अछाममा धारिलो हतियार प्रहार गरी युवकको हत्या, एकको अवस्था गम्भीर, एक जना पक्राउ
2020/10/27, 1:07
 
death

अछाममा धारिलो हतियार प्रहार गरी युवकको हत्या गरिएको छ । ढकारी गाउँपालिका वडा नम्बर ३ गढीहाले बजार नजिकै धारिलो हतियार प्रहार गरी २० वर्षीय देवेन्द्र थापाको हत्या भएको छ भने अर्का १६ वर्षीय रुद्र थापा घाईते भएका छन् । मंगलबार बिहान गढीहाले बजार नजिकै हत्या गरेको अवस्थामा २० वर्षीय थापाको शव फेला परेको ढकारी गाउँपालिका ३ का अध्यक्ष महादेव बुढाले बताए ।

उनको शरीरमा धारिलो हतियार प्रहार गरेको देखिएको बुढाले बताए । गम्भीर घाइते अवस्थामा भेटिएका १६ वर्षीय रुद्र थापालाई थप उपचारका लागि कोहलपुर पठाइएको छ ।  मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

यस्तै हत्यामा संलग्न भएको आशंकामा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढकारी गाउँपालिकाकै नरेन्द्र बहादुर बुढा रहेको छन् । जिल्ला प्रहरी कार्यालयले बुढालाई हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।