बली रोक्न खोज्दा प्रमुख जिल्ला अधिकारीलाई नै देउता लगाउने धम्की
2020/10/27, 1:20
 
bali

कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले जनस्वास्थ्यका मापदण्ड पुरा गर्न र सामाजिक दूरी अपनाएर दशैं मनाउन आग्रह गरेपनि सुदूर पश्चिममा भने स्वास्थ्य मापदण्डको उल्लंघन गर्दै दशैं मनाईएको छ । अझ यो पटक दशैंमा सरकारले सार्वजनिक रुपमा पूजा पाठ, जाँत तथा धार्मिक अनुष्ठान नगर्न जारी गरेको निर्देशन प्रमुख जिल्ला अधिकारीहरुले कार्यान्वयन नै गर्न सकेनन । बली नचढाउन जारी गरेको सरकारी निर्देशन पनि स्थानीय बासिन्दाले टेरेनन । बरु कतिपय शक्तिपीठहरुमा बिगतको तुलनामा यो पटक रांगा र बोका बढि काटिए ।

बैतडीमा बली नचढाउन र शक्तिपीठहरुमा भीडभाड नगर्न स्थानीय प्रशासनले गरेको आग्रहलाई स्थानीय तहका प्रमुख र उप्रमुखहरुहरुले नै टेरेनन । स्थानीय सरकारका रुपमा चिनिने स्थानीय तहका प्रमुख उपप्रमुखको शान्ति सुरक्षा कायम गर्ने र संक्रमण फैलिन नदिन सावधानी अपनाउने जिम्मेवारी भएपनि उनीहरु नै उल्लंघनकर्ता देखिए । बैतडीको देहीमाण्डौं स्थित निङ्लासैनी भगवतीको मन्दिरमा यसपटक पनि बली चढाईयो । 

प्रमुख जिल्ला अधिकारीले शक्तिपीठहरुमा भीडभाड नगर्न र बली नचढाउन आग्रह गरेका थिए । उल्टै स्थानीय बासिन्दाले बली रोक्न खोजे प्रजिअका विरुद्ध देउतालाई भाकल गर्ने चेतावनी दिएको बताईएको छ । शक्तिपीठहरुमा बलप्रयोग गर्न सक्ने अवस्था नरहेकोले स्थानीय प्रशासनले मौनता साँधेर बसेको बुझिएको छ । यस पटक कोरोना रोकथाम र परिवारका सदस्यहरुलाई कोरोनाको संक्रमण नहोस शक्तिपीठहरुमा भनेर बिगतमा भन्दा बढि बलि चढाईएको छ ।

बैतडीका प्रमुख जिल्ला अधिकारी मोहन जोशीले स्थानीय बासिन्दाको धार्मिक आस्थामा असर नपर्ने गरी शक्तिपीठहरुमा बली चढाउन तथा भीडभाड नगर्न आग्रह गरिएको बताए ।