बैतडीको दुर्गम बस्तीमा बिजुली
2020/10/27, 10:07
 
bidhut

बैतडी जिल्लाका ग्रामिण क्षेत्रमा विद्युत बिस्तार भइरहेको छ ।  पाटन नगरपालिका ९ भट्याडी गाउँमा पोल गाडेको सात वर्षपछि बिजुली बलेको छ । गाउँमा बिजुलीबत्ती बलेपछि स्थानीयबासी खुसी भएका छन् । विद्युत विस्तारका लागि पोल गाडिएका भएपनि विद्युत विस्तार नहुँदा स्थानीयहरु अन्धकारमा बस्न बाध्य रहेका थिए । 

गाउँमा विद्युतीकरणका लागि आफूहरुले पहल गरेर विद्युत वितरण केन्द्र पाटन शाखाको सहयोगमा गाउँमा बिजुलीबत्ती बलेको स्थानीय कर्णबहादुर बिष्टले बताए । उनले भने, “गाउँमा पोल गाडिएको धेरै वर्ष सम्म विद्युत नपुग्दा हामीले गाउँलेहरुसित सल्लाह गरेर श्रमदानमा विद्युत विस्तार गरेका छौँ । तार तान्ने, पोल गाड्ने लगायतका काममा स्थानीयले श्रमदान गरेपछि गाउँमा बिजुली बलेको हो ।” 

स्थानीयको ५० हजार बढीको श्रमदान र विद्युतका कर्मचारीको सहयोगमा विद्युत विस्तार भएपछि गाउँलेहरु खुसी भएका स्थानीय डम्मरसिंह भाटले बताए । अहिले गाउँका २८ घरधुरीमा बिजुली बलेको छ । उनले भने, “गाउँमा बिजुली बलेपछि स्थानीयबासी निकै खुसी भएका छन् । करिब १२ घरमा विद्युत पुग्न बाँकी छ । त्यसका लागि पहल गरिरहेका छौँ ।” सडक नजिकैको भट्याडीमा विद्युत सेवा विस्तारपछि स्थानीयलाई सजिलो भएको दीपकसिंह भाटले जानकारी दिए । नेपाल विद्युत प्राधिकरणले गाउँमा विद्युत विस्तार गर्ने कार्यक्रम अन्तर्गत अध्याँरा गाउँहरुमा विद्युत विस्तार गरिरहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख मोहनदेव जोशीले जानकारी दिए । 

बैतडीको मेलौली नगरपालिका २ रौतगाउँ र कपडतमा विद्युत विस्तार गरिएको छ । प्राधिकरणको विद्युत विस्तार गर्ने रणनीति अनुसार गाउँगाउँमा विद्युत विस्तार जारी रहेको हो । ट्रान्सफर्मर चार्ज गरेर दुवै गाउँमा विद्युत बालिसकेको नेपाल प्राधिकरण वितरण केन्द्र बैतडीका सुपरभाईजर माधवप्रसाद लेखकले जानकारी दिए । उनले भने“ अब ग्राहकले मिटर जडान गरेमा सबै घरमा विद्युत लाइन जडान गरिनेछ । ”

यो आर्थिक वर्षमा पनि ग्रामीण क्षेत्रमा विद्युत विस्तार कार्यक्रम रहेको र सोही अनुसार ग्रामीण क्षेत्रमा विद्युुत विस्तार भईरहेको प्राधिकरण बैतडीका प्रमुख मोहनदेव जोशीले जानकारी दिए । गत आर्थिक वर्षमा पनि १८ सय घरमा विद्युत विस्तार गरिएको थियो  । गत आर्थिक वर्षमा जिल्लाका १२ ठाउँमा ट्रान्सफर्मर राखेर विद्युत सेवा विस्तार गरिएको हो । जिल्लाको सुर्नया गाउँपालिकाको शङ्करपुर, पाटनको किम्तोली, बाटुलासौं, मजेरा, भडाली, डुब्केकोइरालीमा नयाँ ट्रान्सफर्मर राखिएको छ । 

यस्तै पञ्चेश्वरको जेबलकटट्या, बिजुल र सेलीमा नयाँ ट्रान्सफर्मर राखिएको छ भने डिलाशैनीको सेरी र दोगडाकेदारको सित्तडमा नयाँ ट्रान्सफर्मर राखिएको प्रमुख जोशीले जानकारी दिए । पोल गाडेको ३ वर्षपछि दोगडाकेदार गाउँपालिका ५ को दुर्गमबस्ती जिमकोटमा पहिलोपटक बिजुली बलेको छ । स्थानीय युवाको सक्रियताले तीन वर्षपछि जिमकोट अध्यारोमुक्त हुन सफल भएको हो । जिमकोटका केही ठाउँमा पोल गाडेको र गाड्न बाँकी ठाउँमा युवाहरु आफैंले पोल गाडेर बिजुली बाल्न सफल भएको स्थानीय भिमसिंह भाटले जानकारी दिए । 

स्थानीय युवाले चन्दा सङ्कलन गरी प्राविधिकको पारिश्रमिक जुटाउनका साथै आफैले पोल गाड्ने र तार तान्ने काम गरेको भाटको भनाइ छ । उनले भने, “ कोरोना कहरले घरमै रहेका युवाले श्रमदान र चन्दा सङ्कलन गरी गाउँमा बिजुली बाल्न सफल भएका छौं । ” जिमकोटबासीको बिजुली बलेको हेर्ने धोको तीन वर्षपछि पुरा भएको स्थानीय युवा हरिसिंह भाटले बताए । उनले भने “ गाउँमा पहिलो पटक बिजुली बल्दा खुसीयाली छाएको छ, सबैजना खुसी भएका छन् । ”

कृषिमा आत्मनिर्भर बन्दै गएको जिमकोटमा बिजुली पुग्दा कृषि क्षेत्रमा थप सहयोग पुग्ने विश्वास गरिएको छ । रातियमा आउने जङ्गली जनावरले तरकारी तथा अन्नबाली नष्ट पार्ने हुँदा बिजुली पुगेपछि सहज भएको उनले बताए । जिमकोटमा ४० घर छन् ।