तानाशाही शैलिमा गाउँपालिका चलाएको भन्दै अछामको रामारोशन गाउँपालिकामा उपाध्यक्षले तालाबान्दी गरेकी छिन् । गाउँपालिका सरकारले एकतन्त्रिय शासन व्यवस्था र तानाशाही शैलिमा काम कारबाही गरेको भन्दै उपाध्यक्ष सरस्वती रावलले बुधबारदेखि अनिश्नितकालीन तालाबन्दी गरेकी हुन् ।
एक विज्ञप्ती जारी रावलले स्थानीय सरकार संचालन ऐेन विपरित उपाध्यक्षको अधिकार खोसेर काम भैरहेको जनाएकी छिन् । योजनाको अनुगमन तथा सुपरीवेक्षणको अधिकार उपाध्यक्षको भएपनि अनुगमन प्रतिवेदन विना योजनाको भुक्तानी हुन लगाएको आरोप रावलले लगाएकी छिन । कर्मचारी भर्ना तथा छनौटमा अनियमिता गरेको आरोप समेत उनको छ । योजना छनौटमा समेत केन्द्रियता लाद्धै जनमतको अपमान भैरहेको उनको आरोप छ ।
गाउँपालिका सरकारले गर्ने हरेक काम कारवाहीमा आन्तरिक तथा पार्टीमा पटक पटक छलफल हुँदा समेत कार्यशैलीमा कुनै फरक नआएकोले बाध्य भएर तालाबन्दी गर्नुपरेको विज्ञप्तीमा उल्लेख छ । यो गाउँपालिकामा अध्यक्ष झंकर साउद र उपाध्यक्ष रावल दुबै तत्कालीन नेकपा माओवादीबाट निर्वाचित हुन् । गाउँपालिका सरकारले आर्थिक प्रलोभनमा परेर कर्मचारी भर्ना गरेको भन्दै प्रतिपक्षी नेपाली कांग्रेसले समेत केही दिन पहिले शान्तडा बजारमा प्रदर्शन गरेको थियो ।