रासायनिक मलको हाहाकारः आशैआशमा किसान रातभर जाग्राम तर रित्तो हात घर फिर्ता
2020/10/30, 11:35
 
mal

राति बल्बको उज्यालोमा किसानहरू सहकारीको गोदामबाहिर लामवद्ध छन् । धेरै भीडभाड भएकाले धकेलाधकेल पनि भइरहेको छ । कोरोना भाइरस संक्रमणको महामारीबाट बच्न कम्तिमा २ मिटरको दूरी कायम गर्नुपर्ने सरकारी मापदण्ड कसैले पालन गरेका छैनन् । लामवद्ध किसानलाई मल पाए हुन्थ्यो भन्ने आश छ । यो दृश्य हो, कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडको हो । सुखड बजार क्षेत्रमै रहेको नकरोड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट मल पाउने आशमा किसानहरू सहकारीबाहिर रातभर जाग्राम बस्छन् । मलको अभाव यसपालिको समस्या मात्रै होइन, खेतीपातीको हरेक सिजनमा किसानलाई मल, बिउँ र सिचाइ सुविधा पाउन युद्ध लडेझै संघर्ष गर्नुपर्छ । 

2

कोरोना त्रासबीच धानखेती गरेका किसान धान भित्र्याएर फेरि हिँउदे बाली तोरी, गहुँ लगाउने तयारीमा छन् तर किसानले आवश्यक रासायनिक मल पाएका छैनन् । मल अभावमै गत वर्ष गहुँखेती गरेका किसानले यस वर्ष पनि मल अभावमै हिउँदे बाली लगाउनुपर्ने बाध्यता छ । सहकारी बाहिर रातभर जाग्राम बसेका सुखडका किसान महेश चौधरी भन्छन्, ‘सहकारीबाट मल पाउने आशमा रातभर जाग्राम बस्यौं तर १ बोरा पनि मल पाएनौं । बिहानीपख एकछिन सहकारीको सटर खुलेको थियो तर फेरि बन्द भइहाल्यो । हामी कसैले मल पाएका छैनौं ।’ सुखडमा १ बिघा जमिन रहेका चौधरीलाई अहिले हिउँदे बालीका लागि मल आवश्यक छ । 

1

सँगै लाइनमा रहेका अर्का किसान बलदेव चौधरीको पनि छुट्टै दुःखेसो छ । उनले भने, ‘हामीलाई डीएपी मल आवश्यक हो । तर सहकारीले डीएपी मात्र दिइरहेको छैन, सुपर, युरिया मिलाएर दिने गरेको छ, हामी किसानलाई अहिले सुपर चाहिएकै छैन, सहकारीले हामीलाई पेलिरहेको छ ।’ सहकारीमा लाइनमा बसेर पनि रित्तो हात घर फर्किएका गणेश शाही भन्छन्, ‘लगातार ३ दिन भयो सहकारीमा मल पाइन्छ कि भनेर लाइनमा बसेको तर अहिलेसम्म मल पाइएन । अब मल पाइने आशा पनि छैन ।’ सहकारीमा मात्रै मल पाइने भए पनि सहकारीले राम्ररी वितरण नगरेको गुनासो अर्का किसान पुष्पा चौधरीले गरिन् । ‘सहकारीले मल वितरणमा विभेद गर्छ । आफ्नाहरूको नाम लिस्ट तयार गरी उनीहरूलाई मात्रै पर्याप्त मल वितरण गर्छ । तर हामी जस्ता सोझासिधा किसानहरूले मल पाउँदैनौं ।’
सहकारीमा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीबाट मल ल्याउने गरिएको छ । मल आपूर्तिको १० गुणा बढी कृषकको माग भएकाले मल वितरणमा समस्या भइरहेको नकरोड बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष लक्ष्मी चौधरीले बताइन् । ‘हामीसँग मल न्यून मात्रामा छ तर सहकारी बाहिर किसानको लाइन हजारौंको संख्यामा दैनिकजसो भइरहन्छ । त्यसैले मल वितरण गर्न सकिरहेका छैनौं,’ उनले भनिन् । 
 
कृषि सामग्री र साल्ट ट्रेडिङमै छैन मल, किन हुन्छ बर्सेनी अभाव ? 
सुदूरपश्चिममा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मल आपूर्तिको काम गरिरहेका छन् । जसमध्ये ७० प्रतिशत आपूर्तिको जिम्मा कृषि सामग्रीलाई छ भने ३० प्रतिशत जिम्मा साल्ट ट्रेडिङलाई छ । तर आपूर्तिको जिम्मा पाएका दुवै संस्थानसँग मलको मौज्दात छैन । सरकारी अनुदान रकम कम भएका कारण नै बर्सेनि मलको अभाव हुने गरेको कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका प्रमुख नबलसिंह बोगटीले बताए । 
‘खरिद गर्ने हाम्रो माथिल्लो निकायले हो, त्यहाँ सोध्दा देशभरका लागि ७ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ तर खरिद प्रत्येक वर्ष ३ लाख मेट्रिक टनसम्म हुन्छ, त्यसैले यो समस्या दोहोरिरहन्छ,’ उनले भने, ‘सरकारले पर्याप्त मात्रामा बजेट उपलब्ध गराउँदैन । त्यसकारण किसानलाई समस्या भइरहन्छ । सरकारले पर्याप्त बजेट उपलब्ध गराएमा मलको समस्या हुँदैन, किसानले पर्याप्त मात्रामा मल पाउँछन् ।’
किसानको समस्या समाधान र मल आपूर्तिमा स्थानीय सरकारको भूमिका नदेखिएको किसानको गुनासो छ । सुखडका हार्दिक सापकोटा भन्छन्, ‘घोडाघोडी नगरपालिकाले मल वितरण भइरहेका स्थानमा आजसम्म प्रतिनिधि पठाएको हामीले देखेका छैनौं । किसानहरू मलको खौजीमा भौंतारिरहेका छन् तर खै कहाँ छ स्थानीय सरकार ?’
घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीले स्थानीय तहले सहकारी तथा डिलर छनोट गरी सिफारिस मात्रै गर्ने बताए । ‘प्रदेश तथा संघीय सरकारलाई आवश्यकता छ, मल लगायतका अन्य सामग्री दिनुहोस् भन्छौं तर दिनेरनदिने उनीहरूको अधिकार हो । तर पनि किसानका समस्याबारे माथिल्लो तहसँग निरन्तर छलफल र समन्वय गरिरहेका छौं ।’

प्रदेश सरकारका कुरा मात्रै ठूला !
सुदूरपश्चिम प्रदेश सरकारले कृषिबाट क्रान्ति हुने भन्दै जनता फकाउन विभिन्न कार्यक्रम घोषणा गरेको छ । प्रदेश सरकारबाट पनि हालसम्म मलको अभाव समाधान गर्न कुनै पहल भएको देखिएको छैन । प्रदेश सरकारले मुख्यमन्त्री कृषि कार्यक्रम, कृषिमूलक विभिन्न स्वरोजगार र अनुदानका कार्यक्रम सार्वजनिक गरेको छ । तर किसानलाई बर्सेनि मलको समस्या छ । ‘हामी कृषकको समस्या लिएर कति पटक प्रदेश सरकारका मन्त्रालय धायौं, कति ज्ञापनपत्र बुझायौं । तर सरकार बहिरो र दृष्टिविहीन छ । किसानका पीडा सुन्दैन, देख्दैन,’ गौरीगंगाका किसान माधव खनालले भने ।

मन्त्रीको दाबीः सरकार काम गर्दैछ
सुदूरपश्चिमका किसानले बर्सेनी भोग्दै आएको रासायनिक मलको समस्या समाधान गर्न प्रदेश सरकारले रकम विनियोजन गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनीता चौधरीले बताइन् । ‘प्रदेशको मल अभावलाई परिपूर्ति गर्न चालू आर्थिक वर्ष २०७७र०७८ का लागि १ करोड रुपैयाँ विनियोजन गरेका छौं,’ उनले भनिन्, ‘बिउमा हामी आत्मनिर्भर भइसकेका छौं, अब मलमा पनि लगानीको प्रयास गरिरहेका छौं । संघीय सरकारले वितरण गरेको मलले पनि नपुगेका किसानका लागि हामीले वितरण गर्ने योजना बनाएका छौं ।’ यो खबरलाई लोकान्तरमा जीवन बिष्टले लेखेका छन् ।