बझाङको जयपृथ्वी नगरपालिका ०९ चिउरी खान (चौड) बजारमा दुई जना अपरिचित व्यक्तिले एक पसलमा ६ सय ५५ रुपैंयाँको चाउचाउ, चिनी लगायत सामान किनेर एक हजारको नयाँ नोट दिए । त्यसमा दुईवटा हात्ति देखिएकाले पसलले नक्कली नोट होृ भन्दै प्रहरीलाई बोलाए ।
प्रहरीले आएर खाद्यान्न किन्ने दुवै जनालाई पक्राउ गरेर लग्यो । पक्राउ गरेको लगत्तै प्रहरीले नक्कली नोटसहित दुई जना पक्राउ भन्दै मुचुल्का गर्यो । त्यसपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढायो । जब प्रहरीले अनुसन्धानका क्रममा राष्ट्रिय वाणिज्य बैंकलाई जानकारी गरायो । त्यसपछि प्रहरी ठूलो पछुतो भयो कि हामी झुक्कीयौं भनेर ।
नेपाल राष्ट्र बैंकले २६ अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँको नयाँ नोट २०७७ साउन ७ गतेदेखि बजारमा प्रचलनमा ल्याएको थियो । नयाँ विशेषतासहितको नयाँ नोट बजारमा पठाइए पनि बझाङमा भने उक्त नयाँ नोट खासै प्रचलनमा आएको छैन ।
बजारमा आएका नयाँ नोटहरुमा सुरक्षा विशेषता अन्य यथावत रहे पनि हात्तीको संख्या भने थपिएको छ । पहिले एक हजारको नोटमा एउटा मात्रै हात्ती हुने गरेकोमा अहिले जुम्ल्याहा हात्ती नयाँ नोटमा रहेका छन् ।
तत्कालीन् गभर्नर डा। चिरञ्जीवि नेपालकै पालामा यो नोट छपाइको कार्य भएकाले नयाँ नोटमा पनि नेपालको हस्ताक्षर छ ।
राष्ट्र बैंकका अनुसार हात्तीको चित्र भने वन तथा वातावरण मन्त्रालय मातहतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपलब्ध गराएको हो । देवकलीबाट जन्मिएका जुम्ल्याहा हात्तीको नाम ‘राम’ र ‘लक्ष्मण’ हो । उनीहरु अहिले पनि चितवन राष्ट्रिय निकुञ्जमा गस्तीमा जान प्रयोग गरिन्छन् ।
प्रायः हात्तीबाट जुम्ल्याहा बच्चा जन्मिनु दुर्लभ मानिन्छ । तिनै दुर्लभ हात्तीको फोटो हजारका नोटमा राखिएका छन् । यसअघिको हजारको नोटमा भएको हात्तीको फोटो कहाँको हो र कसले खिचेको हो भन्ने कसैलाई जानकारी छैन ।