गत वर्षको तुलनामा भारतबाट यो वर्ष भारतबाट निकै बढी कृत्रिम फूलमाला धनगढी भित्रिएको छ । तिहारलाई लक्षित गरेर गत वर्षको तुलनामा यस वर्ष १४ गुणा बढी कृत्रिम फूलमाला धनगढी भित्र्याइएको छ । कैलाली भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष ०७७–०७८ को साउनदेखि कार्तिकसम्मको अवधिमा भारतबाट धनगढीमा एक हजार पाँच सय ७५ किलोग्राम कृत्रिम माला भित्रिएको छ । भन्सार कार्यालयका अनुसार यो अवधिमा धनगढीमा ६ लाख ६२ हजार एक सय ८३ रुपैयाँ मुल्यको कृत्रिम फूलमाला भित्रिएको हो । कैलाली भन्सार कार्यालयका अधिकृत डिल्लुप्रसाद शर्माले कृत्रिम फूलमाला आयातबाट तीन लाख ५३ हजार ५३ रुपैयाँ राजश्व संकलन भएको बताए ।
भारतको दिल्ली, लखनऊ, बरेली लगायतका सहरबाट धनगढीमा कृत्रिम फूलमाला आयात हुने गरेको छ । अधिकृत डिल्लुप्रसाद शर्माले भने, ‘धनगढीमा हरेक वर्ष असोज र कात्तिक महिनामा सबैभन्दा बढि कृत्रिम फूलमाला आयात हु्ने गरेको छ ।’ गत वर्ष सोही अवधिमा कैलाली भन्सार नाका हुँदै भारतबाट एक सय सात किलोग्राम कृत्रिम फूलमाला भित्रिएको थियो । सो ६४ हजार चार सय २० रुपैयाँको कृत्रिम फूलमाला भित्रिएको थियो । जसबाट ३१ हजार छ सय ७९ रुपैयाँ राजश्व संकलन भएको थियो ।
कैलालीको त्रिनगर भन्सार नाका हुँदै गत आर्थिक वर्षमा भारतबाट आयात भएको कृत्रिम फूलमाला भन्दा चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा १४ गुणा बढी आयात भइसकेको छ । कृत्रिम फूलमाला बाहेक धनगढीमा भारतबाट दियो, मैनबत्ती, अगरबत्ती लगायतका सामानहरू आयात हुने गरेको छ । कैलालीमा त्रिनगर भन्सार नाकाबाट मात्रै नभएर सत्ती छोटी भन्सार कार्यालय, गड्डाचौकी भन्सार कार्यालय र नेपालगञ्ज भन्सार कार्यालयबाट पनि कृत्रिम फूलमाला तथा मैनबत्ती, दीयो लगायतका सामान भित्रिने गरेको छ ।
फूलको माग बढी, उत्पादन कम
धनगढीमा पछिल्ला केही वर्षयता फूल खेती हुने गरे पनि बजार माग अनुसार उत्पादन हुने गरेको छैन । तथ्यांक अनुसार सुदूरपश्चिममा वार्षिक १५ देखि २० प्रतिशत फूलको माग बढ्ने गरेको भए पनि उत्पादन निकै न्युन छ । नेपाल उद्योग वाणिज्य संघका वस्तुगत परिषद्का उपाध्यक्ष लोकनाथ गैरेले सुदूरपश्चिममा फूलखेतीको ठूलो सम्भावना रहेकोले स्थानीय जातका फूलहरूको पहिचान गरी प्रवद्र्धन गर्नुपर्ने बताए ।
स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्न र प्लाष्टिकजन्य पदार्थको खपत घटाउनकै लागि सरकारले कृत्रिम फूलमालामा चर्को कर लगाएको भन्सार अधिकृत शर्माले बताए । उनले खरिद मुल्यमा २० प्रतिशत भन्सार शुल्क र खरिद मुल्यमा भन्सार शुल्क जोडेर १३ प्रतिशत मुल्य अभिबृद्धि कर (भ्याट) लिने गरेको बताए । उनले समग्रमा कृत्रिम फूलमालाको खरिद मुल्यको ३४ दशमलव ४७ प्रतिशत राजश्व सरकारले लिने गरेको जानकारी दिए ।
माटोका वस्तु पनि आयात
कैलाली भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षमा २७ हजार यूनिट माटाका वस्तुहरु आयात भएका छन । ४६ हजार चार सय ८३ मूल्य बराबरका माटाका वस्तुहरु आयात भएको जनाइएको छ । यी वस्तुबाट १७ हजार आठ सय ५२ रुपैयाँ राजश्व संकलन भएको जनाइएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष ०७६÷७७ मा ७२ हजार तीन सय ८२ यूनिट माटाका वस्तु आयात भएको थियो । गत वर्षको तीन महिनामा दुई लाख ७८ हजार पाँच सय ८२ रुपैयाँ बराबरको माटाका वस्तु आयात भएका थिए । यी वस्तुबाट कार्यालयले एक लाख छ हजार नौ सय ७० रुपैयाँ संकलन गरेको थियो ।
भन्सार कार्यालयले दिएको तथ्यांक अनुसार यस वर्ष झिलिमिलि बत्ती भने आयात भएको छैन । भन्सार अधिकृत शर्माले भने, ‘झिलमिलि बत्ती यस नाकाबाट आयात भएको छैन । अन्य नाकाबाट आयात भएको हुन सक्छ ।’ उनका अनुसार गत वर्ष दुई हजार एक सय पाँच यूनिट झिलिमिलि बत्तीहरु आयात भएको थियो । गत वर्ष ६० हजार चार सय ३० रुपैयाँ बराबरको झिलिमिलि बत्ति बजारमा थियो भने सोबाट कार्यालयले २१ हजार सात सय ३८ रुपैयाँ राजश्व संकलन गरेको थियो ।