कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले भारतीय नगरिकलाई नेपाल प्रवेशमा रोक लगाउँदा मजदुर अभावमा कैलाली कन्चनपुरमा इँटा उत्पादन कार्य प्रभावित भएको छ । कैलाली र कन्चनपुरमा रहेका इँटा उद्योगमा दक्ष श्रमिकका रूपमा रहेका भारतीय सीमा बन्द हुँदा नेपाल प्रवेश गर्न नपाएपछि अहिले इँटा उद्योगले विगत वर्षभन्दा निकै कम मात्रामा काँचो इँटा उत्पादन गरिरहेका छन्।
‘अहिले स्थानीय कामदारबाट पहिलेभन्दा आधा मात्र काँचो इँटा बनाइरहेका छौं,’ इँटा व्यवसायी संघ कैलालीका पूर्वमहासचिव तथा खप्तड इँटा उद्योग सञ्चालक दिपेन्द्र श्रेष्ठले भने, ‘भारतबाट दक्ष श्रमिक आएनन् भने इँटा पोल्ने कुनै सम्भावना छैन ।’ सामान्यतयाः मंसीर पहिलो सातादेखि इँटा पोल्ने काम सुरु हुन्छ । तर, यसपाली भारतीय श्रमिक अभावमा सबै व्यवसायीले काँचो इँटा गत वर्षभन्दा निकै कम परिमाणमा तयार गरिरहेका छन ।
कैलाली र कन्चनपुरमा करिब ७० इँटा उद्योग छन । प्रत्येक उद्योगमा कम्तिमा डेढ सयदेखि ४ सयसम्म श्रमिक काम गर्छन । इँटा व्यवसायी संघ सुदूरपश्चिम प्रदेश समितिका सदस्य दिपेन्द्र ऐरका अनुसार सुदूरपश्चिमका इँटा उद्योगमा ७० प्रतिशत श्रमिक भारतीय छन् । ‘नेपाली मजदुरले इँटा पोल्ने र पकाउने काममा खासै दक्षता राख्दैनन् ।’ न्युगणेश इँटा उद्योगका सञ्चालक समेत रहेको ऐरले भने, ‘इँटा उद्योगहरू दक्ष कामदारका लागि पूर्णतः भारतीयसँग निर्भर रहेका कारण यस वर्ष इँटा उत्पादन प्रभावित बनेको छ ।’
गत वर्ष इँटा उत्पादन सिजन सकिने वित्तिकै भारत छिरेका भारतीय मजदुर त्यसपछि ‘लकडाउन’ र सीमा बन्दका कारण नेपाल आउन नपाएको उनले बताए । संघीय सरकारले विकास निर्माण कार्यमा आवश्यक सीमित श्रमिक प्रदेश सरकारको सिफारिसमा भारतबाट आउन दिए पनि उद्योगमा आवश्यक श्रमिकलाई भने आउन अनुमति दिइएको छैन । उद्योगमा इँटा छपाइ (काँचो इँटा बनाउने काम), इँटा भट्टामा ढुवानी (सुकेपछि घोडा–गाडीमा राखेर भट्टामा लैजाने काम), भट्टाभित्र इँटा मिलाएर राख्ने काम (बेलदारी), मिलाएको इँटा खरानीले ढाक्ने र पाकेको इँटा भट्टबाट निकाल्ने काममध्ये काँचो इँटा तयार पार्ने काम मात्र नेपाली श्रमिकले गर्छन् ।
कैलाली र कन्चनपुरमा रहेका इँटा उद्योगमा भारत उत्तर प्रदेशका पिलिभित, पुरनपुर, लखिमपुर र बहराइच जिल्लाबाट श्रमिक आउने गर्छन् । इँटा भट्टामा काम गर्न भारतीय श्रमिक परिवार सहित आउने र भट्टामा नै अस्थायी टेन्ट बनाएर बस्ने गर्छन् । भारतीय श्रमिक आउन नपाएपछि इँटा उत्पादन नहुने मात्र हैन, व्यवसायीले श्रमिकका लागि गरेको लगानी पनि डुब्ने सम्भावना बढेर गएको सिएन इँटा उद्योगका सञ्चालक सुरेन्द्र भट्ट बताउँछन् । ‘हरेक इँटा उद्योगले भारतीय श्रमिकलाई कम्तिमा १५ देखि २० हजार भारु पेस्की दिने चलन छ ।’ भट्ट भन्छन्, ‘अहिले आउन नपाएपछि उनीहरू नेपालको विकल्पमा भारतमै काममा लाग्न सक्छन् । यसले नेपाली व्यवसायीको लगानी डुब्नेमात्र हैन, इँटा पनि उत्पादन नहुने हुन सक्छ ।’
नेपाल इँटा उद्योग महासंघका महासचिव कृष्णप्रसाद धवन नेपालको सीमा क्षेत्रका इँटा उद्योग भारतीय दक्ष कामदारमा निर्भर रहेकाले उताबाट श्रमिक नआए उत्पादन गर्न गाहे भएको बताउँछन् । काठमाडौंमा समेत प्रत्येक इँटा उद्योगमा ५० देखि ६० दक्ष भारतीय कामदार रहे पनि सीमा क्षेत्रमा भारतीयमा निर्भर रहेकाले बढी समस्या रहेको उनी बताउँछन् । संघीय सरकारको उद्योग मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई भेटेर इँटा उद्योगका लागि भारतबाट कामदार आउन दिन आग्रह गरेको बताए । ‘सचिव ज्यूले म छिट्टै छलफल गरेर टुँगो लगाउँछु भन्नुभयो, तर अहिलेसम्म छलफल नै भएको छैन,’ धवनले भने ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न भारतीयलाई नेपाल प्रवेशमा रोक लगाएका कारण मजदुरलाई नेपाल भित्रिन नदिइएको हो । ‘इँटा व्यवसायी लगायत समग्र उद्योग क्षेत्रमा भारतीय मजदुर आवश्यक पर्ने गरेको भए पनि सरकारी निर्णयका कारण हाल भारतीयलाई नेपाल आउन रोक लगाइएको छ ।’ बोहराले भने, ‘व्यवसायीका समस्याबारे गृह मन्त्रालयलाई पटक–पटक जानकारी गराइसकेका छौं ।’
केही दिन अघि मात्रै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई उद्योगीका समस्याबारे जानकारी गराइएको उनले बताए । मन्त्री भट्टले छिट्टै भारतीय श्रमिकलाई नेपाल आउन दिने वातावरण मिलाइने जानकारी गराएको उनले बताए । तर, हालसम्म भारतीय श्रमिक आउनेबारे आफूलाई कुनै जानकारी नभएको प्रजिअ बोहराले बताए ।
उनले कात्तिक २९ पछि संघीय सरकारले उद्योगीका समस्या समेटेर केही निर्णय गर्न सक्ने बताए । ‘कात्तिक २९ सम्म सीमा बन्द गर्ने भन्ने सरकारी निर्णय नै छ,’ बोहराले भने, ‘त्यसपछि गृहले नयाँ निर्णय गर्छ, जसमा भारतीय मजदुरलाई आउन दिने व्यवस्था हुन सक्छ ।’ इँटा भट्टामा दक्ष जनशक्ति अभाव हुँदा भारतबाट नेपाल फर्केका मजदुर भने बेरोजगार बनेका छन । स्वदेशी उद्योगीले दक्षता नभएको भन्दै नेपालीलाई विश्वास नगर्ने र भारत जाँदा कोरोना लाग्ने चिन्ताका कारण वैशाखमा भारतबाट फर्केका श्रमिक बेरोजगार बनेका हुन् ।
‘भारतमा अहिले स्याउ टिप्ने, घर निर्माण गर्ने जस्ता काम सहजै पाइन्छ,’ धनगढीका श्रमिक प्रेम नेगीले भने, ‘तर, कोरोनाका कारण भारत जान डर लागिरहेको छ, नेपालमा हामीलाई कसैले पत्याउँदैन ।’ भारतमा कोरोना संक्रमण फैलिएपछि वैशाखमा धनगढी आएका उनी त्यसयता बेरोजगार बनेका छन्। लामो समय बेरोजगार बन्दा परिवारको दैनिकी चलाउन समस्या हुन थालेको उनले बताए । ‘कसैसँग ऋण मागे पत्याँदैनन्,’ उनले भने, ‘न कामै पाइन्छ ।’ वैशाखमै घर फर्केका कन्चनपुर कृष्णपुर नगरपालिकाका मजदुर श्याम महरा भने अहिले इँट्टा उद्योगमै काम गरिरहेका छन्। तर, उनी कामप्रति खुसी भने छैनन् । ‘भारतमा काम गर्दा दैनिक १ हजार कमाइ हुने गथ्र्यो,’ उनले भने, ‘तर, अहिले दैनिक ५ सयमा काम गरिरहेको छु । दिनभर काम गरेको पैसा बेलुका नै सकिन्छ ।’