छठ पर्वको मुख्य दिन आज शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व बुधबारदेखि सुरु भएको हो । कोरोना महामारीका कारण यसवर्ष घरघरमै छठ पर्व मनाउने तयारी भइरहेको छ । सरकारले पनि घरमै छठ पर्व मनाउन अनुरोध गरेको छ ।
छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसाद स्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिविधान छ ।
षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ । धनगढीको मोहना नदी किनारमा सजावट गर्ने गरिएकामा यस वर्ष कोरोना महामारीका कारण सुनसान प्रायः छ । मोहनामा छठ पूजा गर्नु हुने कार्यक्रम यस वर्ष कोरोना भाइरसका कारण स्थगित गरिएको छ । यस वर्ष कोरोना महामारीबाट बच्न प्रशासनले भीडभाड नगरि छठ पर्व मनाउन आह्वान गरेको छ । स्वास्थ्य सुरक्षाका विधि अपनाएर व्रत विधि पूरा गर्न पनि प्रशासनले सम्झाएको छ ।