सुदूरपश्चिममा दुई दिनमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । डडेल्धुरा र कैलालीमा एक एक जनाको मृत्यु भएको हो । डडेल्धुराको अमरगढीमा नगरपालिकामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । डडेल्धुरा अस्पतालको आईसोलेनमा उपचाररत अमरगढी नगरपालिका–५ की ७२ वर्षीया कमलादेवी नगरकोटीको आईतबार बिहान मृत्यु भएको हो ।
निमोनिया तथा छातीको समस्याले ग्रसित रहेकी उनीमा केही दिनअघि कोरोना संक्रमण भेटिएको थियो । डडेल्धुरा अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना देखिएपछि अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको शव रण बम गण दह ब्यारेगले व्यवस्थापन गरेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।
यस्तै शनिबार कैलालीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–१ का ५९ बर्षिया कोरोना संक्रमित महिलाको मृत्यु भएको उनका आफन्तले बताएका छन । उनको स्वास्थ्यमा समस्यमा आएपछि अस्पताल भर्ना गरिएकोमा सारथी अस्पताल प्रालि धनगढीमा मृत्यु भएको हो ।
उनको सेती प्रादेशिक अस्पतालमा शनिबार कोरोना परिक्षण गरिदा रिर्पोट पोजेटिभ आएको थियो । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।