डडेल्धुरामा अबैध रुपमा वन फडानी: डिभिजन वन कार्यालयद्वारा अनुसन्धान शुरु
2020/12/03, 9:35
 
Ban

 प्रदेश गौरवको योजना अन्र्तगत कञ्चनपुरको दैजीदेखि डडेल्धुरा र बैतडी हुँदै बझाङको देउरा जोडने राजमार्गको डडेल्धुरामा पर्ने पोखरा–बेलापुर सडक खण्डमा सडक निर्माणका नाममा अन्धाधुन्ध सल्लाका रुख काटिएको सन्दर्भमा डिभिजन वन कार्यालय डडेल्धुराले अनुसन्धान शुरु गरेको छ  ।

सडक निर्माणको निहुँमा काठ तस्करहरुले डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ को पलेथ्थर र सल्लेरी सामुदायिक वनक्षेत्रमा हरिया सल्लाका रूखहरू काटेर गोलिया बनाएका छन । सडक निर्माणका नाममा सामुदायिक वन फडानी भएको झण्डै तीन हप्तापछि स्थलगत अनुगमनमा पुगेको डिभिजन वन कार्यालय डडेल्धुराको टोलीले पलेथ्थर सामुदायिक वनमा ३१ र सल्लेरी सामुदायिक वनमा १६ सल्लाका रुख काटेको पाइएको जनाएको छ । वन फडानी गरेर गोलिया बनाई राखेको अवस्थामा करिब ३५ सय क्युविक फिट काठ अवैैध रुपमा काटिएको पाइएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ ।

सामुदायीक वनहरुले रूख कटानको लागि डिभिजन कार्यालय डडेल्धुराबाट इजाजत नलिएको र सडक निर्माणका लागि वातावरणीय प्रभाव मुल्यांकन कार्य प्रकृयामै रहेका बेला अन्धाधुन्ध किसिमले रुख काटिएको सन्दर्भमा सुक्ष्म किसिमले अनुसन्धान भईरहेको डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिए । तर सामुदायिक वनले माग गरे अनुसार स्थानीय उपभोक्ताहरुको प्रयोजनका लागि रूख काट्न अनुमति दिएको डिभिजन वन कार्यालय डडेल्धुराका रेन्जर केशव पौडेलले जानकारी दिए । घरायसी प्रयोजनका लागि काठ काटन अनुमति दिए पनि ठुलो मात्रामा रुख काटिएकाल सो बिषयमा अनुसन्धान थालिएको उनले बताए ।

डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरादेखि नवदुर्गा गाँउपालिकाको बेलापुरसम्म १० किमि सडक कालोपत्रे गर्ने काम चलिरहेको र नबदुर्गा गाँउपालिका–१ मष्टभगवती मन्दिर नजिकै सामुदायीक वन क्षेत्रमा रहेका रूखहरू सडक क्षेत्रमा परेकाले खेर जानु भन्दा उपभोक्ताको माग अनुसार रूख कटान गरिएको पलेथ्थर सामुदायिक वनका अध्यक्ष खडकबहादुर बुढाएरले जानकारी दिए ।