विद्यालय पुग्नै सकस
2020/12/26, 2:02
 
apanag

दशरथचन्द नगरपालिका–२ देहीमाडौंका २३ वर्षीया हीरा बोहराको विद्यालय गएर पढ्ने रहर अधुरै छ। जन्मेको ६ वर्षपछि अपांगताको सिकार भएकी बोहराले विद्यालयमा कसरी पढाइ हुन्छ भन्ने अनुभव कहिल्यै गर्न पाइनन्।   डाक्टरका अनुसार उनमा हड्डीको विकास नभएका कारण अपांगता भएको हो। घरबाट पाँच सय मिटरको दूरीमा रहेको विद्यालय उनका लागि ल्हासाको सुन जस्तो बन्न पुग्यो। आफ्नै उमेरका अन्य बालबालिका 

विद्यालय गएको देख्दा उनलाई पनि उकुसमुकुस हुन्थ्यो। तर, खाना खान पनि आमाकै सहारा चाहिने उनका लागि घरदेखि विद्यालयसम्म पुग्ने सडक र विद्यालयका संरचना त्यत्ति सहज थिएनन्।   विद्यालयमा समेत अपांगता भएका विद्यार्थीहरूका लागि बस्ने अलग्गै व्यवस्था छैन। न शौचालय अपांगमैत्री छ न खानेपानीको व्यवस्था। उनले भनिन् ‘मेरो पढ्ने ठूलो रहर थियो।

नजिकै विद्यालय भए पनि व्हीलचेयर लैजाने बाटो नभएपछि विद्यालयमै गएर पढ्ने मेरो धोको अधुरै रहेको छ।’  हीराको भाइ र बहिनी पनि अपांग छन्। हीराकी बहिनी करिश्मा अहिले कक्षा ११ मा पढ्छिन्। विद्यालय जान सक्ने अवस्था नभएपछि उनी पनि घरबाटै पढेर परीक्षा दिँदै आएकी छिन्।

‘सानो छँदा पिठ्युँमा बोकेर विद्यालय 
पुर्याउँथे। अब त ठूली भइसकी म पनि पिठ्युँमा बोकेर विद्यालय लैजान सक्तिनँ,’ करिश्माकी आमा देवकी बोहराले भनिन्, ‘सरकारको हरेक बालबालिकाको शिक्षामा पहुँच पुर्याउने नारा छ। तर, मेरा छोरीहरू अपांग भएकै कारण विद्यालय जान सकिरहेका छैनन्।’ 

हीरा र करिश्माका भाइ जयन्त बोहरा पनि अपांगताको सिकार बनेका छन्। कक्षा ७ मा पढिरहेका जयन्त पनि अहिले घरबाटै पढिरहेका छन्। कक्षा ५ सम्म पिठ्यँमा बोकेर विद्यालय पुर्याउने गरिएका जयन्त ठूलो भएपछि बोक्न असहज भएकाले घरमै पढ्न थालेका हुन्। हीरा र करिश्माको जस्तै कथा धेरैका छन्। जिल्लाको सुर्नया गाउँपालिका–८ की दीपा बोहरा जन्मजात दृष्टिविहीन हुन्।

गाउँकै विद्यालयमा उनी एक बहिनीको सहारा पुग्ने गरेकी छन्। कक्षाकोठामा उनी शिक्षकहरूले बोलेको बाहेक अरू केही कुरा थाहा पाउँदिनन्। सुनेकै भरमा उनी अहिले कक्षा ११ मा पुगेकी छन्। दृष्टिविहीनका लागि ब्रेललिपिको व्यवस्था हुनुपर्ने भए पनि उनलाई साधारण विद्यालय पुग्न सकस छ। उनले भनिन्, ‘मलाई मेरो समस्याअनुसारको ठाउँमा पढ्न पाए सजिलो हुन्थ्यो।’

जिल्लामा हीरा, करिश्मा, जयन्त र दीपा जस्ता धेरै विद्यार्थीहरूले विद्यालयमा अपांगमैत्री संरचना नहुँदा पीडा भोग्नु परेको छ। यद्यपि त्यस्ता विद्यार्थीहरूको तथ्यांक न त स्थानीय सरकारसँग छ न त प्रदेश सरकारसँग।  केन्द्र सरकार मातहत रहेको शिक्षा विकास तथा समन्वय इकाइ पनि यसबारे बेखबर छ। इकाइका सूचना अधिकारी पुष्कर शर्माले जिल्लामा अपांगता भएका विद्यार्थीहरूबारे आफूहरूसँग कुनै तथ्यांक नरहेको बताए। मुलुक संघीय संरचनामा गएसँगै विद्यालय सञ्चालनको सम्पूर्ण जिम्मेवारी स्थानीय सरकारको काँधमा छ। 

बैतडीका ५ सय ६२ सामुदायिक विद्यालय मध्ये सबै जसो विद्यालयमा अपांगमैत्री संरचना नभएको सूचना अधिकारी शर्मा बताउँछन्। ‘अपांगता भएका विद्यार्थीहरूका लागि विशेष शिक्षा सञ्चालन गर्नुपर्ने हो,’ शर्मा भन्छन्, ‘बैतडीका दुई विद्यालयमा अपांगता भएका विद्यार्थीहरूका लागि विशेष शिक्षा सञ्चालनमा रहे पनि अहिले बन्द छ।’  एकातिर अपांगता भएका विद्यार्थीहरूको विद्यालयमा पहुँच पुग्न सकेको छैन भने अर्कोतिर विशेष शिक्षा बन्द भएको छ। ती विद्यालयमा विद्यार्थी नभएको भन्दै विशेष शिक्षा बन्द भएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख नरेन्द्र अवस्थीले बताए। 

बैतडीमा बहिरा र सुस्त मनस्थिति भएका विद्यार्थीहरूका लागि भन्दै २०६१ सालमा दुईओटा विद्यालयमा विशेष शिक्षा सञ्चालन कार्यक्रम सञ्चालन गरियो। तर, गएको ३ वर्षयता ती विद्यालयहरूमा विद्यार्थी नभएको भन्दै विशेष शिक्षा बन्द छ। शंकर संस्कृत मावि मूलखटाली र सिगास आधारभूत विद्यालय दोरामा सञ्चालन भएका विशेष शिक्षा कार्यक्रम अहिले बन्द भएका शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी पुष्करराज शर्माले बताए।

अपांगता भएका बालबालिकाहरूलाई शिक्षा प्राप्तिमा निकै समस्या भएको जिल्ला अपांग संघ बैतडीका उपाध्यक्ष लक्ष्मी विष्टले बताइन्। अहिले माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारले हेर्नुपर्ने व्यवस्था छ। तर, स्थानीय सरकारहरूले पनि अपांगता भएका विद्यार्थीहरूको शिक्षामा पहुँच पुर्याउन खासै कार्यक्रम ल्याउन सकेका छैनन्।

स्थानीय तहहरू भर्खर अस्तित्वमा आएकाले केही प्रयासहरू भइरहेको दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले बताए। उनले भने, ‘हामीले अपांगता भएका विद्यार्थीहरूको सहयोगका लागि केही प्रयास सुरु गरेका छौं। देहीमाडौं तीन जना अपांगता भएका विद्यार्थीहरूका लागि एकएक ल्यापटपको व्यवस्था गरेका छौं। वार्षिक ५ हजार छात्रवृत्ति पनि दिँदै आएका छौं।’