सुदूरपश्चिम प्रदेशका थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ३ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ७२ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ५५ नमूना परीक्षण गर्दा कैलालीका ४६ सहित ५६ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका थप २५ जनामा संक्रमण देखिएको जानकारी दिए ।
यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ९ जना, कैलाली गाउँपालिकाका ५ जना, गौरीगंगा नगरपालिका, टीकापुर नगरपालिका र घोडाघोडी नगरपालिकाका २/२ जनामा भाइरसको संक्रमण देखिएको छ । उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, बेदकोट नगरपालिकाका २ जना, बेलौरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका १/१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
यस्तै उता अछाममा थप १५ जनामा कोरोना भाइरसको संक्रमाण पुष्टि भएको छ । आइतबार कमलबजार नगरपालिकाको प्रयोगशालामा भएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो । १ सय ४३ नमूना परीक्षण गर्दा जिल्लाको मंगसेन नगरपालिकाका १० जना, अछामको चौरपाटी गाउँपालिका, कैलालीको टिकापुर नगरपालिका, बैतडीको पुर्चौडी नगरपालिका, सल्यानको छत्रेश्वरी गाउँपालिका र बर्दियाको गेरुवा गाउँपालिकाकाका १÷१ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।
यस्तै जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा १ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १२ हजार ८ सय ८० पुगेको छ । संक्रमण पुष्टि भएका १० हजार ३ सय २१ जना डिस्चार्ज भएका छन ।