भारतका प्रधानमन्त्री मोदीले लेखे देशबासीका नाममा चिठ्ठी
2020/05/30, 1:39
 
modi

भारतमा नरेन्द्र मोदी नेतृत्वमा बनेको सरकारको दोस्रो कार्यकालको पहिलो वर्ष शनिबार पूरा भएको छ । यस अवसरमा प्रधानमन्त्री मोदीले एक चिठ्ठी लेखेर देशबासीप्रति आभार प्रकट गरेका छन् । चिठ्ठीको सुरुवातमा उनले लेखेका छन् ‘कोरोना महामारीका कारण सामान्य परिस्थिति छैन । त्यसैले देशबासीका नाममा पत्र लेख्नु परिरहेको छ।’

उनले लेखेका छन्, ‘दशकौँपछि भारतमा पूर्ण बहुमतको कुनै सरकारलाई लगातार दोस्रोपटक जनताले जिम्मेवारी सुम्पे । यो भारतीय इतिहासको स्वर्णिम अध्याय हो ।’ मोदीले चिठ्ठीमा आफ्नो सरकारले लिएको कडा निर्णयहरुको प्रसंग कोट्याउँदै कोरोना महामारीतर्फ इंगित गरेर कुनै पनि मुश्किल परिस्थितिले भारतको भविष्यको निर्णय गर्न नसक्ने बताएका छन् । मोदीले चिठ्ठीमा वर्ष २०१४ मा जनताले देशको नीति र रीति बदल्न भोट दिएको बताएका छन् ।

देशले व्यवस्था परिवर्तन र भ्रष्टाचारको दलदलबाट बाहिर निस्कन पाएको उल्लेख गर्दै मोदीले भनेका छन्, ‘ती पाँच वर्षमा देशले गरिबहरुको सहज जीवनयापनका लागि शासन प्रणाली परिवर्तन भइरहेको देख्यो ।’ मोदीले पहिलो पाँच वर्षे कार्यकाल देशको अनेकौँ आवश्यकता पूर्तिका लागि समर्पित रहेको पनित बताएका छन् ।

गरिबको बैंक खाता, निशुल्क ग्यास कनेक्सन, निशुल्क बिजुली कनेक्सन, शौचालय, घर, सर्जिकल स्ट्राइक, एयर स्ट्राइक हुई, वन रैंक वन पेन्शन लगायतका माग पुरा गर्ने काम भएको उल्लेख गरेका छन् । मोदीले दोस्रो कार्यकालमा पनि देशबासिका थुप्रै आकांक्षा पूरा गर्न लागिरहेका बेला अकस्मात कोरोना माहामारीले भारतलाई पनि घेराबन्दीमा पारेको बताएका छन् । तर सरकारको आग्रहमा जनताले दिएको साथका कारण कोरोना महामारी नियन्त्रणउन्मुख भएको उनले बताएका छन्।

कोरोना महामारीविरद्धको लडाई लामो रहेको उल्लेख गर्दै मोदीले यसमा सबैको साथ पाएपछि विजय निश्चित रहेको बताएका छन् । उनले कोरोना महामारीपछिको आर्थिक संकटको सामनाका लागि भारत तयार रहेको पनि बताएका छन् । उनले १३० करोड भारतीयको वर्तमान र भविष्य कुनै बिपतले तय गर्न नसक्ने बताएका छन् ।