केपी ओली जङ्गबहादुरकाे बाटाेमा हिँडेदेखि हाम्राे विजयकाे सुरुवात भयाे : प्रचण्ड
2020/12/28, 6:36
 
prachand

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ महाराजाधिराज जङ्गबहादुरको बाटोमा हिंडेको बताउनुभएको छ ।

सोमबार जनसांस्कृतिक महासङ्घले काठमाण्डौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली सामन्ती शासक जस्तो श्री ३ महाराजाधिराज जङ्गबहादुरको बाटोमा हिँडेको बताउनुभएको हो । त्यही दिनदेखि नै प्रधानमन्त्री ओली पराजित भएको र आफूहरू विजयी भएको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरू पलेँटी कसेर बाटोमा जाँदाखेरि यिनीहरू त सडकमा पुगे भनेर बडो चिन्ता गरेको मैले देखेँ । मलाई के लागेको छ भने हामी सडकमा पुगेको होइन हामी जनताको बीचमा पुग्यौँ । केपी ओली सामन्ती शासक जस्तो श्री ३ महाराजाधिराज जङ्गेको बाटोमा हिँड्नु भयो । त्यहीँबाट उहाँ पराजित हुनुभयो, हाम्रो विजयको सुरुवात भयो ।’

पार्टीभित्रको विवाद सामना गर्न नसकेर प्रधानमन्त्री ओलीले देशलाई नै राजनीतिक सङ्कट ल्याउने हदसम्म पुर्‍याएकाे पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । यस कदमबाट प्रधानमन्त्री ओली इतिहासमा पराजित भएको पनि उहाँकाे भनाइ छ । संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री ओलीले इतिहासको पानामा कलङ्कको टीका लगाएको प्रचण्डले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीभित्र विवाद चलेको पक्कै पनि हो । अन्तर–सङ्घर्ष चलेको हो । त्यहाँ सही र गलतको बीचमा हामीले पार्टी एकताको बेलामा निर्धारित गरेको राजनीतिक प्रतिवेदन र विधानअनुसार चल्नुपर्छ भन्ने जोड गरेर व्यक्तिवादी तरिकाले, गुटवादी तरिकाले पार्टी विधि पद्धतिभन्दा बाहिर गएर चल्नेका बीचको लडाइँ परेकै हो तर त्यो पार्टीभित्रको सङ्घर्ष थियो । पार्टीभित्रको सङ्घर्षलाई देशमा राजनीतिक सङ्कट ल्याउने हदसम्म गएर इतिहासमा प्रतिगमनको वाहक बन्नु दुर्भाग्यपूर्ण हो । तर मैले के भन्ने गरेको छु भने केपी ओली पराजित हुनुभयो इतिहासमा । उहाँ कलङ्कित हुनुभयो । उहाँले कलङ्कको टीका लगाउनुभयो । फेरि एकचोटि हाम्रो विजयको अभियानको सुरुवात भयो ।’

प्रधानमन्त्री ओलीले हुँदै नभएको प्रावधानबाट संसद् विघटन गरेर आफूहरूलाई नागरिकमा जाने मुद्दा दिएको पनि बताउनुभयो । संविधान, सङ्घीयता र गणतन्त्रको पक्षमा फेरि एक पटक लड्ने मुद्दा दिनुभएकोले अब हुने कुनै पनि चुनावमा आफूहरूले जित्ने पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । तर पछिलो समय जे भइराखेको छ त्यो क्रान्ति र प्रतिक्रान्तिको बीचमा, अग्रगमन र प्रतिगमनको बीचमा भएको लडाइँ रहेको पनि उहाँले बताउनुभयो । 

कम्युनिस्टहरू शासनको नेतृत्व गर्ने ठाउँमा पुग्दा नेताहरूको विचारमा गम्भीर समस्या देखा पर्ने गरेको उहाँकाे भनाइ छ । रुस र चीनमा समेत कम्युनिस्ट आन्दोलन हुँदा वैचारिक, सांस्कृतिक समस्या आएको बताउँदै त्यस्तै समस्या अहिले नेपालमा पनि देखा परेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आज हाम्रो कम्युनिस्ट पार्टीभित्र पनि एउटा ठूलो वैचारिक र सांस्कृतिक विचलन देखा पर्‍याे । प्रतिक्रान्तिकारी, प्रतिगमनकारी विचलन देखा पर्‍याे । हामीले झण्डै ७० वर्ष लामो लडाइँ लडेर ल्याएको उपलब्धिमाथि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानमाथि निर्मम र कुप्रहार भएको छ । कम्युनिस्ट पार्टी भित्रैबाट तपाईँ हामीले नै अगाडि बढाएको नेतृत्वबाट सात दशक लगाएर हजारौँ हजार शहीदहरूकाे बलिदान, लाखौँको त्याग, करोडौंको सहभागिता, सामूहिक विवेकको प्रयोग गरेर त्यसको साझा निष्कर्षको रुपमा सङ्घीय लोकतान्त्रिक संविधान बनाइएको छ ।’

२०४७ सालपछिका अनुभवलाई हेरेर संविधानमा प्रतिनिधि सभा विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिइएको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । संविधान सभामा भएका दलबीच व्यापक छलफल गरेर संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने अधिकार खोसिएको उहाँले बताउनुभयो । तर प्रधानमन्त्री ओलीले संविधानको मर्म र भावना, सामूहिक विवेकको निष्कर्षमाथि प्रहार गरेको उहाँकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘अहिले संविधानको मर्म र भावना, सामूहिक विवेकको निष्कर्षमाथि प्रहार गरियो । यो सदनमाथिको मात्रै प्रहार होइन, यो सांसदहरूको सार्वभौम अधिकारमाथिको मात्रै प्रहार होइन ।’

उहाँले प्रतिनिधि सभा नमरेको समेत बताउनुभयो । प्रधानमन्त्रीलाई सदन विघटन गर्ने अधिकार नै नदिएकाले सदन अहिले पनि जीवितै रहेको तर सरकार विघटन भएको अध्यक्ष दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सदन मरेको छैन, सदन जीवित छ । सदन विघटन भएको छैन । सदन जीवित छ । विघटन भएको केपी ओलीको सरकार हो । उसले जनताका विरुद्धमा संविधानको मर्म र भावना विपरीत गएपछि ऊ विघटित भएको हो ।’

सम्मानित अदालतले संविधानमा प्रष्टसँग लेखिएको कुरा बुझ्दैन भनियो भने अदालतको सम्मानप्रति अपमान भएको ठहर्ने समेत उहाँले बताउनुभयो । त्यसैले सर्वोच्च अदालतले संविधानको पक्षमा फैसला गर्ने प्रचण्डकाे विश्वास छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रहार संविधानमाथिको मात्र नभएर समग्र लोकतन्त्र, देशका सबै उत्पीडित वर्ग जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचान, समावेशीता र समावेशी लोकतन्त्रको हक अधिकारमाथिको प्रहार भएको उहाँकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘केपी ओलीले जुन ढङ्गले निर्मम प्रहार संविधानमाथि, लोकतन्त्रमाथि, सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि, यो देशका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचान, समावेशीता, समावेशी लोकतन्त्रको हक अधिकारमाथि गरेका छन् त्यो सही हुन सक्दैन ।’