सुदूरपश्चिममा आईसीयूको अभाव कायमै
2020/12/31, 11:10
 
icu

सुदूरपश्चिम  प्रदेशमा संघीय सरकार मातहतको एक मात्र अस्पताल डडेल्धुरा अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) सेवा सञ्चालनमा आएको छ । १५ बेडको आईसीयू कक्ष सञ्चालन गर्ने भनिए पनि विविध कारणले पाँच बेडको आईसीयू सेवा सञ्चालन गरेको अस्पतालले जनाएको छ । थप ६ बेडको आईसीयू सेवा केही दिनमै सञ्चालन गरिने र बाँकी चार बेडलाई भने केही समयपछि सञ्चालन गर्ने योजना रहेको डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए ।

सुदूरपश्चिम प्रदेशका अस्पतालमा आईसीयू र भेन्टिलेटर सेवाको अभाव जारी रहेकाले जाडोसँगै कोभिड–१९ का बिरामी बढेमा उपचारमा कठिनाइ हुने अवस्था आउने देखिएको छ । स्रोत साधान अभावका कारण डडेल्धुरा र सेती प्रादेशिकलगायतका अन्य अस्पतालहरुमा अझै आईसीयू र भेन्टिलेटर सेवा सञ्चालनमा कठिनाइ भइरहेको पाइएको छ । अस्पतालमा आउने बिरामीको चापको अनुपातमा डडेल्धुरा, सेती, महाकाली र टीकापुर अस्पतालमा उपकरण र दक्ष जनशक्तिको पनि अभाव छ । जिल्ला अस्पतालहरुमा त झन् जनशक्तिसँगै अक्सिजन प्लान्टको समेत अभाव भइरहेको पाइएको छ ।

सुदूरपश्चिम प्रदेशमा झन्डै एक दर्जन सरकारी अस्पताल रहे पनि धनगढीबाहिरका अस्पतालमा स्रोत र साधनको अभाव कायमै रहेको हो । धनगढीबाहिर सिकिस्त बिरामीको उपचारमा प्रयोग हुने उपकरणहरु र जनशक्तिको खाँचो टड्कारो छ । प्रदेश सरकारले २० वटा भेन्टिलेटर विभिन्न १० वटा अस्पताललाई दुई थानका दरले वितरण गरेको भए पनि ती सञ्चालनमा ल्याउन दक्ष जनशक्तिको व्यवस्थापन गर्न नसकिँदा अस्पतालमा थन्क्याउनुपर्ने अवस्था आएको खबर नेपाल समाचार पत्र दैनिकले लेखेको छ ।