मोटरसाईकलमा सवार कैलालीका आमा छोरामाथि पाटेबाघको आक्रमण, आमा वेपत्ता 
2021/01/02, 10:19
 
death

मोटरसाईकलमा सवार कैलालीका आमा छोरामाथि पाटेबाघको आक्रमण भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिक मोटरसाइकलमा रहेका आमा छोरामाथि पाटेबाघले आक्रमण गरेको हो । 

कैलाली लम्की चुहा नगरपालिका ४ की ५० नन्दकला थापालाई पाटेबाघले झम्टेर लगेको निकुञ्जले जनाएको छ । आमाछोरा मोटर साइकलमा घरतर्फ आउन लागेका बेला शुक्रबार राति करिब साढे ८ बजेतिर महिलालाई पाटेबाघले आक्रमण गरेर लगेको बताइएको छ । मोटरसाइकल चलाइरहेका छोरालाई सामान्य चोट लागेको छ भने महिलाको शव अझैं फेला परेको छैन ।

बाघले आक्रमण गरेको खबर पाए लगत्तै निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले हात्तीको सहायताबाट महिलाको खोजी गरिरहेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । तर अझैसम्म पनि महिलाको अवस्था पत्ता नलागेको उनले बताए । अबदेखि बेलुका निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा मोटरसाइकल, साइकल र पैदल यात्रुलाई हिँड्न प्रतिबन्ध लगाउने विषयमा छलफल गरिने संरक्षण अधिकृत श्रेष्ठले बताए ।