धनगढीको आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली काठमाण्डौंबाट उडे
2021/01/08, 11:26
 
kp oli

प्रधानमन्त्री केपी शर्मा ओली धनगढीमा हुने आमसभालाई सम्बोधन गर्न काठमाण्डौंबाट उडेका हुन् । प्रतिकुल मौसमका कारण श्री एयरलाईन्सको विमानबाट उडान तालिकाभन्दा तीन घण्टा ढिलो गरी उडेको हो । धनगढीमा बाक्लो हुस्सु लागेका कारण विहान ८ बजेर १५ मिनेटमा उड्नुपर्ने विमान अहिले उडेको हो । 

पार्टी विभाजनपछि प्रधानमन्त्री ओली पहिलो पटक उपत्यका बाहिरको जनसभालाई सम्बोधन गर्न आउन लागेका हुन् । प्रधानमन्त्री आउने कार्यक्रमको तयारी सकिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए ।  

स्थानीय प्रशासनको निर्देशन अनुसार ‘हाई अलर्ट’मा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सम्भावित घटनालाई ध्यानमा राखेर कडाइ गरेको जनाएको छ । नेपाल प्रहरीले पनि सुरक्षा रणनीति बनाउँदै जिल्लामा अन्य समयको भन्दा ठूलो संख्यामा प्रहरी परिचालन गर्दै सादा पोशाकमा समेत टोली खटाएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शम्शेर जबराले जानकारी दिए ।

सशस्त्र प्रहरीले समेत प्रधानमन्त्रीको सुरक्षालाई ध्यानमा राख्दै सुरक्षा योजनालाई थप कडा पारेको छ । नेपाल प्रहरीले जस्तै सशस्त्र प्रहरीले समेत बिहीबारदेखि नै नियमित गस्ती बढाएको छ भने जनसभा आयोजना हुने दिन शुक्रबार पनि कार्यक्रमस्थल लगायत धनगढीका आसपासका क्षेत्रमा सशस्त्र प्रहरी पनि परिचालन गरिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र कुँवरले विशिष्ट व्यक्तीको सुरक्षा रणनीति अनुसार थप प्रहरी परिचालन गरिएको बताए ।  समाचार स्रोतका अनुसार प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै कैलालीमा झण्डै १५ सय सुरक्षाकर्मी परिचालन हुनेछन् भने सादा पोशाकमा  झण्डै २ सय जना सुरक्षाकर्मी खट्नेछन् । जनसभा स्थल र प्रधानमन्त्री आवातजावत हुने सडकमा कालो झण्डा, कालो ब्यानर बोक्न वा लगाउन पाइने छैन ।