बझाङमा विद्यालय व्यवस्थापन समितिको चुनावपछि खुँडा प्रहार गरी युवकको हत्या
2021/01/27, 10:00
 
hh

बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–३ का अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको हो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार गाउँपालिकाको वडा नम्बर ३ मै रहेको बन्नीचौर माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघको चुनाव सकेर घर फर्किने क्रममा विवाद भएको थियो । सोही विवादपछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको प्रहरी नायव उपरीक्षक खड्काले बताए । 

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा काँग्रेस निकट उम्मेदवार लोेकेन्द्र बोहरा विजयी भएका थिए । उनले नेपाल कम्युनिष्ट पार्टी निकट उम्मेदवार गजेन्द्र धामीलाई २८ मतले पराजीत गरेका हुन् । हत्या गरिएका सिंह विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विजयी बोहरा निकटका व्यक्ति हुन् । 

यस्तै खुँडा प्रहार गर्ने मध्येका एक जना वडा नम्बर २ का ज्ञानबहादुर कडायतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हत्याका आरोपी खड्काले वडाध्यक्षको सरकारी मोटरसाइकल प्रयोग गरेको समेत देखिएको छ । छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडीको सरकारी मोटरसाइकल प्रयोग भएको हो । ऐडी तत्कालिन एमालेबाट वडाध्यक्षमा विजयी भएका थिए ।