बझाङमा युवक हत्या प्रकरण: वडाध्यक्षसहित चार जना पक्राउ
हत्यारालाई कारबाही माग गर्दै सदरमुकाममा प्रदर्शन
2021/01/27, 2:11
 
death

छबिस पाथिभेरा गाउँपालिका–३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् । सिंहको मंगलबार राती खुँडा प्रहार गरी हत्या भएको थियो । २३ वर्षीय सिंह नेपाल तरुण दल, छबिस पाथीभेरा गाउँपालिकाका सदस्य हुन् ।

पक्राउ पर्नेमा छबिस पाथीभेरा–२ का वडाध्यक्ष विकास अयडी, सोही ठाउँका प्रकास अयडी, केदार अयडी र ज्ञानबहादुर कठायत छन् । हत्याका क्रममा वडाध्यक्ष अयडी चढ्ने से१प ७६१ नम्बरको सरकारी मोटरसाइकल प्रयोग भएको प्रहरीले बताएको छ ।

प्रहरीले मंगलबार राति सदरमुकाम चैनपुरको एक होटलबाट उनलाई मोटरसाइकलसहित पक्राउ गरेको थियो । कठायतलाई स्थानीयले मंगलबार नै घटनास्थलबाट नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए ।

अर्का दुई आरोपी प्रकाश र केदारलाई थलारा गाउँपालिका–३, को जाम्बाँझ गाउँबाट बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रूपक खड्काले बताए । हत्यामा संलग्न रहेको आशंका गरिएका सबै पक्राउ परिसकेको जनाउँदै खड्काले थप अनुसन्धान भइरहेको बताए ।

यसै बीच हत्यारालाई कारबाहीको माग गर्दै सदरमुकाम चैनपुरमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले नाराजुलुस गर्दै सदरमुकामभित्र चल्ने यातायात समेत बन्द गराएका छन् । उनीहरूले जिल्ला प्रशासन कार्यालयको मूल गेटमा टायर बालेर हत्या अभियुक्तलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।

नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति पृथ्वीबहादुर सिंहले राजनीतिक आवरणमा हत्या भएको भन्दै संलग्नलाई उम्काउन प्रयास हुन सक्ने आशंका व्यक्त गरे । ‘सत्ता र शक्ति प्रयोग गरेर अपराधीलाई उम्काउने प्रयास हुन सक्छ । यसमा हामीले निरन्तर खबरदारी गर्नै पर्छ,’ उनले भने ।

मंगलबार दिउँसो स्थानीय बान्नीचौर माविको विद्यालय व्यवस्थापन समिति निर्वाचनमा कांग्रेस समर्थक उम्मेदवार विजयी भएको झोंकमा नेकपा समर्थकहरूले सिंहमाथि साँझ ७ बजेतिर खुँडा प्रहार गरेका थिए । सिंहको घटनास्थलमै नै मृत्यु भएको थियो ।