भागरथी हत्या प्रकरणमा प्रमाण संकलन गरिरहेका छौं: एसएसपी सिंह
2021/02/14, 11:19
 
death

अपराध अनुसन्धानमा यति/उति प्रगति भयो भन्न उचित हुँदैन, अपराधी पक्राउ परेका दिन अनुसन्धानले शतप्रतिशत पूर्णता पाउँछ, पक्राउ नपरेसम्म शून्यमै हुन्छ । भागरथी भट्टको हत्या प्रकरणमा संलग्नलाई छिट्टै कानुनी दायरामा ल्याउँछौं । अनुसन्धानमा एकरत्ति पनि कमी र कमजोरी नहुने गरी प्रमाण संकलन गरिरहेका छौं ।

अनुसन्धान जारी रहेका कारण अभियुक्त पक्राउ गर्न बाँकी हो । शव भएको र वरपर तथा चिकित्सकीय विधिबाट संकलित प्रमाणहरू वैज्ञानिक परीक्षणका लागि काठमाडौं पठाएका थियौं, ती तथ्य र प्रमाण कतिपय आउने क्रममा छन् । कति आइसके । विषयको संवेदनशीलतालाई हेरेरै प्रदेश प्रहरी प्रमुख (डीआईजी उत्तमकुमार सुवेदी) पनि घटना भएको जिल्ला (बैतडी) मै बसेर अनुसन्धानलाई प्रभावकारी बनाउन लागिरहनुभएको छ ।

जिल्ला अस्पताल र जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुखसहित प्रमुख जिल्ला अधिकारी स्वयं पनि यसअघि नै घटनास्थल पुगिसक्नुभएको थियो । विषयलाई हामीले कति संवेदनशील रूपमा लिएका छौं भन्ने त यसले पनि देखाउँछ । अहिले एसएसपी (जनकराज पाण्डे) को कमान्डमा समग्र अनुसन्धान भइरहेको छ । त्यसमा प्रदेश, जिल्ला र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट आएको टोलीलाई एकीकृत रूपमा खटाइएको छ । अनुसन्धानमा खटिएका अधिकृत तथा जवानहरूले मिहिनेतका साथ काम गरिरहनुभएको छ ।

अनुसन्धानमा के–कस्ता मिहिनेत गरिएको छ भन्ने विषय अपराधमा संलग्न पक्राउ परेपछि छर्लंग भइहाल्छ । अनुसन्धान सफलतातर्फ उन्मुख छ । अपराधीको नजिक पुगिसकेका छौं । अनुसन्धानमा भएका कतिपय कुरा मानिस पक्राउ नपरेसम्म बाहिर ल्याउन पनि मिल्दैन । यस्ता तथ्य र प्रमाण बाहिर नआएका कारण अपराधीले उन्मुक्ति पाउने पो हो कि भन्ने आशंका, चासो र चिन्ता जनमानसमा रहेकामा हामी जानकार छौं र ज्यादै संवेदनशील पनि । सँगसँगै सबैलाई विश्वास दिलाउन पनि चाहन्छौं– अपराधमा संलग्नलाई जसरी पनि कानुनी दायरामा ल्याइछाड्छौं । अहिलेसम्म अपराधमा संकलित र परीक्षणका क्रममा भएका तथ्य/प्रमाणहरू जुटाइसकेपछि ‘क्लोज सर्भिलेन्स’ मा राखिएका व्यक्तिलाई नियन्त्रणमा लिएर अर्को स्टेपमा प्रवेश गर्छौं । त्यतिबेलासम्म सबैबाट धैर्यताका लागि अनुरोध पनि गर्छौं ।  (टेलिफोनमा गरेको कुराकानी)