डोटीमा स्वास्थ्यकर्मीमाथि आक्रमण, निर्धात कुटपिट, बाटोमा हिडे कोरोना सर्ने भन्दै कुटपिट गर्ने तीन जना पक्राउ, घाईते काठमाण्डौं रेफर
2020/06/02, 2:03
 
korona


डोटीको शिखर नगरपालिकामा तीन जनाको आक्रमणबाट स्वास्थ्यकर्मी गम्भीर घाईते भएका छन् । बाटोमा हिडे कोरोना सर्ने भन्दै स्वास्थ्यकर्मीमाथि निर्धात कुटपिट गरिएको हो । शिखर नगरपालिका वडा नम्वर ९ को दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेव रमेश कुवँरमाथि आक्रमण भएको हो ।

शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले आक्रमणबाट गम्भीर घाईते भएका स्वास्थ्यकर्मी कुवँरलाई काठमाण्डौं रेफर गरिएको छ । घाईते कुँवरलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाएकोमा त्यहाँ उपचार सम्भव नभएपछि काठमाण्डौं स्थित ट्रमा सेन्टर लगिएको हो ।

लाटामाण्डौंमा रहेको स्वास्थ्यचौकीबाट स्वास्थ्य सामाग्री लगेर दानकोट स्वास्थ्यचौकी जादै गरेका कुवँरमाथि तीन जनाले आक्रमण गरेका हुन । गाउँको बाटो हिड्दा कोरोना संक्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानीय तीन जनाले गाली गलौच गर्दै ढुङ्गामुडा प्रहार गरेको जनाईएको छ ।

आक्रमण गर्ने तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिखर नगरपालिका ७ बोगटाका नविन खत्री, रोशन खत्री र तेज लुहार रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी निरिक्षक कर्ण बोहोराले जानकारी दिए ।