बझाङको सदरमुकाम चैनपुरमा खानेपानीको हाहाकार
2021/02/28, 12:09
 
chainpur

बझाङको सदरमुकाम चैनपुरमा खानेपानीको हाहाकार भएको छ । दुई सातादेखि चैनपुरमा खानेपानी नआएको जनाएको छ ।  सदरमुकाम ल्याइने तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम भइरहेको छ । चैनपुरमा पाइप विछ्याउने काम भइरहेको तथा पाइपको उचित व्यवस्थापन नहुँदा खानेपानीको समस्या भएको हो ।

लामो समयदेखि धारामा पानी नआउँदा होटल व्यवसायी बढी मर्कामा परेका छन् । पानी नआउँदा सदरमुकामवासी बाउली खोला र सेती नदीको फोहोर पानी पिउन बाध्य छन्।  धारामा पानी नआउँदा आफूहरूलाई सास्ती भएको होटल व्यवसायी हर्क बोहराले बताए । चैनपुरमा डेरा गरी बस्ने तथा विद्यार्थीलाई पानी अभावमा समस्या भएको छ । चैनपुरमा हरेक वर्ष खानेपानीको अभाव हुँदै आएको छ ।

धारामा पानी नआउँदा सेती नदीबाट पानी ल्याउनपर्ने बाध्यता रहेको चैनपुरमा डेरागरी बस्ने सत्यवादी माविकी छात्रा निसा बोहोराले बताइन् । पानी नआउँदा महिलाहरू बढी मार्कामा परेको उनको भनाइ छ ।

सेती र बाहुलीगाढ खोलाको दूषित पानी पिउँदा स्थानीय बिरामी हुन थालेका छन् । फोहोर पानीका कारण जिल्ला अस्पतालमा पानीजन्य संक्रमणका बिरामीको संख्यामा बढ्दै गएको जिल्ला अस्पताल बझाङका प्रमुख डा. सन्दीप ओखेडाले बताए ।

चैनपुर-कुचा सडक निमार्णका क्रममा खानेपानीको पाइप काटिदा सदरमुकाममा खानेपानीको समस्या आएको चैनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले बताए ।