बझाङमा एकैदिन चार जनाको मृत्यु
2021/04/19, 1:59
 
death

भीरबाट लडेर बझाङमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तल्कोट गाँउपालिका–१ रैसेल्लीका २० वर्षीय राजु तामाङ र जाजरकोटका ४० वर्षीय खडक पुनको रहेको जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक कमलपसाद चौधरीले बताए । 

तल्कोट–१ को ओखरे भीरबाट २५० मिटर तल खस्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । वैशाख ३ गते घरबाट सुर्मा गाँउपालिकाको धानसेरी जानका लागि हिँडेका दुवैै जना सम्पर्कमा नआएपछि खोजी गर्दा आइतबार राति दुवै जनालाई मृत अवस्थामा भेटिएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनीहरू यार्सा संकलनका लागि गएको अनुमान गरेको छ ।

यस्तै, जयपृथ्वी नगरपालिका–८, बारीलका ४८ वर्षीया गालु बोहराको चट्याङ लागेर मृत्यु भएको छ । जंगलमा दाउरा काट्न गएका बोहराको चट्याङ लागेर मृत्यु भएको आफन्तले बताएका छन् । दुर्गाथली गाँउपालिका–३ रकैलकी ११ वर्षीया बालिका अनीता दमाई मृत अवस्थामा फेला परेकी छिन् । घर नजिकैको जंगलमा बाख्रा चराउन गएकी बालिका रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।