सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर माईनस हुनबाट जोगियो
2021/05/15, 10:06
 
dd

प्रायः आर्थिक तथा सामाजिक सूचकांकमा पछाडि रहेका सुदूरपश्चिम प्रदेशका लागि गत वर्ष आर्थिक वृद्धिदर सुखद रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको ‘प्रादेशिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सम्बन्धी’ तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशको आथिक वृद्धि माइनस हुनबाट जोगिएको छ ।

गत वर्ष सुदूरपश्चिमको आर्थिक वृद्धि ०.६ प्रतिशत (आधारभूत मूल्य) मा रहेको विभागको अनुमान छ । यस बाहेक समग्र मुलुक र कर्णाली बाहेक अरू पाँच प्रदेशको आर्थिक वृद्धि गत वर्ष ऋणात्मक (माइनस) मा छ । गत वर्ष मुलुकको आर्थिक वृद्धि २.१२ प्रतिशतले माइनसमा गएको तथ्यांक विभागले सार्वजनिक गरिसकेको छ । 

प्रदेशगत तथ्यांक अनुसार गत वर्ष प्रदेश १ को आर्थिक वृद्धि १.२ ले ऋणात्मक, प्रदेश २ को १.६, वाग्मतीको ३.६, गण्डकीको १.७ र लुम्बिनीको १.८ प्रतिशतले ऋणात्मक भएको छ । सुदुरपश्चिमसँगै कर्णाली प्रदेश भने ऋणात्मक हुनबाट जोगिएका हुन ।

विभागले १८ वटा आर्थिक क्षेत्रका क्रियाकलापका आँकडाका आधारमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सम्बन्धी वास्तविक, अनुमानित तथा प्रक्षेपित तथ्यांक सार्वजनिक गर्ने गरेको छ । गत वर्ष खानी तथा उत्खनन, उत्पादनमूलक क्षेत्र, निर्माण, खुद्रा तथा होलसेलको व्यापार, यातायात र भण्डारण, आवास तथा खाद्य सेवा (होटल तथा रेस्टुरेन्ट) को वार्षिक वृद्धिदर ऋणात्मक भएको थियो ।

होटल तथा रेस्टुरेन्ट क्षेत्रको आर्थिक वृद्धि त सबैभन्दा बढी करिब ३७ प्रतिशतले ऋणात्मक थियो । तर यी आर्थिक कारोबार हिस्सा सुदूरपश्चिम र कर्णाली प्रदेशमा कम भएकाले माइनस हुनबाट जोगिएको विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले बताए । ‘जुनजुन क्षेत्र ऋणात्मक भएको त्यसको कारोबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा निकै कम छ ।’ भण्डारीले भने– ‘बढी असर गरेको क्षेत्रको कारोबार नै कम भएपछि ऋणात्मक हुनबाट जोगिएको हो ।’

कुल गार्हस्थ्य उत्पादनमा बढी हिस्सा ओगट्ने कृषि क्षेत्रलाई गत वर्ष कोभिड–१९ ले खासै असर गरेन । २.२३ प्रतिशतले कृषि क्षेत्रको आर्थिक वृद्धिको अनुमान छ । ‘कर्णाली र सुदूरपश्चिमको कुल गार्हस्थ्य उत्पादनमा पनि कृषिको हिस्सा धेरै छ ।’ भण्डारीले भने ।

सुदूरपश्चिम प्रदेशमा पनि सबैभन्दा बढी योगदान कृषिकै अर्थात् ३५.५ प्रतिशत छ । ‘कृषिकै योगदानले यी दुई प्रदेश ऋणात्मक हुनबाट जोगिएका हुन ।’ भण्डारीले भने, ‘कृषि बाहेकको अन्य क्षेत्रमा निर्भर वाग्मती प्रदेशमा भने ठूलै खाडल परेको छ ।’ अर्थात् वाग्मती प्रदेशको आर्थिक वृद्धिदर गत वर्ष ३.६ प्रतिशतले ऋणात्मक रहेको अनुमान छ ।

कोभिड–१९ को थप असर नपरे चालु आर्थिक वर्षमा भने सबै प्रदेशको आर्थिक वृद्धिदर धनात्मक हुने विभागले जनाएको छ । प्रदेश १ को ३.६, प्रदेश २ को ३.५, वाग्मतीको ४.७, गण्डकीको ३.६, लुम्बिनीको ३.९, कर्णालीको ३.६ र सुदूरपश्चिमको ३.४ प्रतिशतले आर्थिक वृद्धि हुने विभागको प्रक्षेपण छ । तर यो उपलब्धि हासिल हुन कोभिड–१९ को असर लम्बिनु हुँदैन ।

‘हालको निषेधाज्ञाको अवधि १५ दिनसम्म मात्रै रहने र त्यसपछि क्रमशः नियमित हुने विश्वास गरिएको छ ।’ विभागले भनेको छ, ‘तथापि होटल तथा रेस्टुरेन्ट र अन्तर्राष्ट्रिय यातायातको क्षेत्रमा केही नकारात्मक असर पर्ने अनुमान छ ।’ विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार अर्थतन्त्रमा सुदूरपश्चिम प्रदेशले ७ प्रतिशत अर्थात् २ खर्ब ९३ अर्ब ९१ करोड रुपैयाँ हिस्सा ओगटेको छ ।