देउवाले पठाए गृहजिल्ला डडेल्धुरामा स्वास्थ्य सामग्री
2021/05/16, 11:33
 
dd

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा स्वास्थ्य सामग्री पठाएका छन्। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जोखिम व्यवस्थापनका लागि पहिलो चरणमा स्वास्थ्य सामग्री पठाएको उनको सचिवालयले जनाएको छ।  

सभापति देउवाको सचिवालयबाट पठाइएका स्वास्थ्य सामग्री जिल्ला समन्वय प्रमुख गणेशराज भट्टले विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई हस्तान्तरण गरेका छन्। सभापति देउवाको सचिवालयले पठाएका स्वास्थ्य सामग्रीमा बेड हाफ फोल्ड गर्न मिल्ने मेट्रेससहित १५ थान, बेडलकर १५ थान, आइभी स्टेण्ड १५ थान, पिपिई सेट एक सय थान, सर्जिकल मास्क पाँच हजार पिस र केही आवश्यक औषधि रहेको देउवाका स्वकिय सचिव भानु देउवाले जानकारी दिए।

उनका अनुसार उक्त सामग्री आवश्यकतानुसार विपद् व्यवस्थापन समितिले स्वास्थ्य कार्यालयमार्फत वितरण गर्ने छ। पहिलो चरणमा स्वास्थ्य सामग्री जिल्ला पुगेको र अन्य सामग्री पनि पुग्ने क्रममा रहेको जिल्ला समन्वय समिति प्रमुख भट्टले बताए। गत वर्ष लकडाउनको समयमा खाद्यान्न पठाएका सभापति देउवाले यस वर्ष स्वास्थ्य सामग्री पठाएको उनले बताए।  

संघीय सरकार मातहातमा रहेको सुदूरपश्चिम प्रदेशको एक मात्र अस्पताल डडेल्धुरा अस्पतालमा दक्ष जनशक्ति अभाव रहेको र अक्सिजन प्लान्टको समेत स्तरोन्नति नगरिएकाले यसको उचित व्यवस्थापनका लागि प्रयास भइरहेको उनले बताए।