सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री पश्चिमी सीमा नाका गड्डाचौकी पुगेका छन् । प्रदेश सरकारका सामाजिक विकास मन्त्री लाल बहादुर खड्का र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री मान बहादुर सुनार शनिबार गड्डाचौकी पुगेका हुन् ।
दोस्रो चरणको कोरोना महामारी फैलिएपछि प्रदेश सरकारका मन्त्री पहिलो पटक गड्डाचौकी पुगेका हुन् । उनीहरु दुबै कञ्चनपुरका हुन् । सामाजिक विकास मन्त्री खड्का बेदकोट र राज्य मन्त्री सुनार दोधारा चाँदनीका हुन् । गड्डाचौकी पुगेर मन्त्रीद्वयले अस्थायी होल्डिङ्ग सेन्टर र हेल्थ डेस्क अनुगमन गरी जानकारी लिएका छन् । उनीहरुले होल्डिङ्ग सेन्टर व्यवस्थित गर्ने आश्वासन समेत दिएका छन् ।
मन्त्रीद्वय खड्का र सुनारसंगै भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट सहित सरकारी अधिकारी सहभागी भएका छन् । प्रमुख जिल्ला अधिकारी राम कुमार महतो, प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदी, सशस्त्र प्रहरी उपरीक्षक विरेन्द्र बहादुर ऐर, स्वास्थ्य कार्यालय प्रमुख शिवराज सुनार लगायतका सहभागी भएका छन् ।
कोरोना महामारीको दोस्रो लहरको फैलिएपछि भारतबाट आउने नेपालीका लागि हेल्थ डेस्क नजिक अस्थायी होल्डिङ्ग सेन्टर बनाइएको छ । हेल्थ डेस्क भने त्यस अघि नै सञ्चालन गरिएको थियो । ‘यहाँ अस्थायी रुपमा होल्डिङ्ग सेन्टर छ, यसलाई व्यवस्थित गरी अझै जान्छौ,’ मन्त्री खड्काले भने,‘त्यसका लागि प्रदेश सरकारको अधिकार के कति छ, त्यो हेरेर नै अघि बढ्छौ ।’
नाकामा होल्डिङ्ग सेन्टर बन्न नसकेपछि अस्थायी बनाइएको हो । संघ सरकारले होल्डिङ्ग सेन्टर निर्माणका लागि ५० लाख बजेट उपलब्ध गराएको थियो । स्थानीय सरकारसित समन्वय गरी सेन्टर बनाउने भनिएको थियो । दोस्रो चरणको महामारी फैलिएपछि गड्डाचौकीमा होल्डिङ्ग सेन्टर बनाउने निर्णय गरिएको थियो । कोभिड संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको तीन सातापछि मात्रै सेन्टर बनाइएको थियो ।
टेन्ट हालेर बनाइएको होल्डिङ्ग सेन्टरमा भारतबाट फर्कने नेपालीलाई बस्नका लागि पर्याप्त कुर्सी पनि समेत नभएको घर फर्किएकाहरु बताउँछन् । ‘खाली टेन्टर राखेर बनाइएको छ , बस्नलाई कर्सी समेत रहेनछ,’ शनिबार भारतबाट फर्किएका एक जनाले भने,‘ कुर्सी नहुँदा पोकामै बसे ।’
सामाजिक विकास मन्त्री खड्काले अस्थायी रुपमा बनाइएको सेन्टरलाई व्यवस्थापन गरी समस्या हल गरिने बताए । ‘यो अन्तर्राष्ट्रिय नाका पनि भएकाले व्यवस्थित गर्छौ’ उनले भने । प्रदेश सरकारका राज्य मन्त्री सुनारले गड्डाचौकी नाकालाई व्यवस्थित बनाउन प्रदेश सरकार सक्रिय रुपमा लाग्ने बताए ।
भीमदत्त नगरपालिकाका मेयर विष्टले स्थायी संरचना निर्माणका लागि प्रदेश सरकारलाई आग्रह गरिएको बताए । अहिले पनि गड्डाचौकी नाका भएर दैनिक रुपमा नेपाली घर फर्कि रहेका छन् । घर फर्किएका नेपालीको स्वास्थ्य जाँच गरी घर पठाउने गरिएको छ ।