पाँच महिने मन्त्री प्रेम आलेका पाँच काण्ड, जो सधैं 'ट्रोल' बनिरहे
2021/06/07, 8:50
 
dd

पाँच महिना ११ दिनमा पदमुक्त भएका वनमन्त्री प्रेमबहादुर आले आफ्नो कार्यकालभरि नै चर्चामा आइरहे। विवादास्पद अभिव्यक्तिका कारण उनी आलोचित भइरहे र यसकै कारण ट्रोलको शिकार पनि बने। केपी ओली सरकारको ‘भाइरल मन्त्री’का रुपमा पनि चिन्छन् कतिपयले उनलाई। 

बोल्दा चिप्लिएको पत्तो नपाउने आले कार्यकालको पाँच महिनामा पाँच पटकभन्दा बढी विवादमा फसे। कहिले रुखले कार्बनडाइअक्साइड दिन्छ भनेर बोल्दा आले उडाइए त कहिले महामारीको समयमा मान्छे जलाउन दाउराको कमी हुन दिन्न भन्दा आलोचित भए।

पछिल्लो पटक भने उनी अक्सिजन सिलिन्डरमा आफ्नो फोटो टाँसेका कारण विवादित बनेका थिए। अक्सिजन सिलिन्डरमा आफ्नो फोटो टाँसेर उनले डोटी अस्पतालमा बाँडेका थिए, जसका कारण उनी निकै आलोचित बने। 

यस्ता छन् पाँच महिनाका पाँच काण्ड

१) सरकार अब सात गियरमा जान्छ 

डोटीबाट प्रतिनिधिसभामा निर्वाचिन आले २०७७ पुस १० गते मन्त्री नियुक्त भएका थिए। नियुक्ति पाएको करिब एक सातापछि उनले एक सार्वजनिक कार्यक्रममा भाषण गर्दै भने– ‘सरकार अब ७ गियरमा अघि बढ्छ।’ उनको भाषण शैली यति आक्रामक थियो कि हान्ने साँढेजसरी ‘फुँ... फुँ... फुँ...’ गर्दै बोलिरहेका थिए। उनको भाषण ट्रोल बन्यो। काम गर्न नसेकर ओली सरकार आलोचित भइरहेका बेला उनको कुरालाई मजाकको विषय बनाए। 

त्यसो त उनको नियुक्ति नै विवादित बनेको थियो। काठ व्यापारीलाई वनमन्त्री बनाएको भन्दै प्रधानमन्त्रीको आलोचना भएको थियो। व्यापारीमात्र होइन, आले काठ तस्कर नै भएको आरोप लाग्दै आएको छ।

आले पहिलो पटक मन्त्री भएका हुन्। उनी मन्त्री भएदेखि नै काठ तस्करसँग साँठगाँठ भएका व्यक्तिलाई वन मन्त्रालयको जिम्मेवारी दिएको भन्दै आलोचना हुने गरेको थियो। स्थानीयका अनुसार सांसद आले डोटीका चर्चित काठ व्यवसायी हुन्। अहिले उनको कोटेश्वरमा आलिसान घर छ।

संविधानसभा निर्वाचनमा डोटी क्षेत्र नं. २ बाट उमेदवार बनेपछि अप्रत्यक्ष रुपमा उनले काठ व्यवसाय गर्दै आएका थिए। त्यसपछि काठ कटानी खोल्न दबाब दिने, आफूलाई आर्थिक सहयोग गर्नेहरुलाई ठेक्का मिलाउन सेटिङ मिलाउने र काठ व्यवसायीसँग कमिसन असुल्ने कार्यमा संलग्न रहेको उनीमाथि आरोप छ।   

हात्तीमा चढेर गैंडा गणना उद्घाटन गर्दै।

२) रुखले कार्बनडाइअक्साइड दिन्छ

सामुदायिक वन उपभोक्ता महासंघको आठौं राष्ट्रिय परिषद्मा विशेष अतिथि बनेका आलेले कार्बनडाइअक्साइड फाल्ने रुखै नरहे हाम्रो हालत के हुन्छ भन्दै भाषण गरे। ०७७ फागुन १८ गते गरेको उनको यो भाषण भाइरल मात्रै बनेन, उनको ज्ञानको स्तरका विषयमा समेत प्रश्न उठ्यो। 

रुख–बिरुवाले अक्सिजन दिन्छ कि कार्बनडाइअक्साइड भन्ने सामान्य भेउसमेत नपाएका उनी करिब एक महिनासम्म ट्रोलको शिकार बने। रुखले अक्सिजन दिन्छ भन्ने सामान्य ज्ञानसमेत नभएका व्यक्ति कसरी वनमन्त्री भए भन्दै सामाजिक सञ्जालमा उनलाई धेरैले गिज्याए। यही काण्डपछि धेरैको नजरमा आले परेका थिए। 

सोही कार्यक्रममा मन्त्री आलेले वैज्ञानिक बन व्यवस्थापन कार्यक्रम खारेज नगर्न आफूलाई १ अर्ब रुपैयाँको अफर आएको बताएका थिए। उनको यो कुरा पनि निकै विवादित बन्यो।

३) सरकार जनताप्रति उत्तरदायी छैन !

निवर्तमान वनमन्त्री आले आफ्नो बोलीकै कारण सधैं विवादमा आइरहे। के बोलिरहेको छु भन्ने भेउ नै नपाउने उनले एक सार्वजनिक कार्यक्रममा भने– यो सरकार जनताप्रति उत्तरदायी हो भन्ने लाग्छ भने त्यो तपाईंहरुको ठूलो भूल हो। उनको यो भाषण पनि ट्रोल बन्यो। ओली सरकारको धोती मन्त्रीले नै खुस्काइदिएको टिप्पणी धेरैले गरे। प्रतिनिधिसभा विघटनपछि सरकारको चौतर्फी विरोध भइरहँदा मन्त्री आलेले यस्तो अभिव्यक्ति दिएका थिए। 

४) शव जलाउन दाउराको कमी हुँदैन

कोरोना संक्रमण उच्च बिन्दुमा पुगेर अस्पतालमा बेड नपाउने र अक्सिजन नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था भएका बेला वनमन्त्री आलेले अर्को काण्ड गरे। संक्रमितको उपचार सहज बनाउने र अक्सिजनको उपलब्धतामा ध्यान दिनुपर्ने बेला उनले भने– घाटमा दाउराको कमी हुँदैन। मैले निर्देशन दिइसकेको छु। उनको यो बोलीको पनि निकै आलोचना भयो। सरकारको मन्त्री असंवेदनशील भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ता उनीमाथि खनिए। 

५) अक्सिजन सिलिन्डरमा आफ्नै फोटो टाँसेर प्रचार

जिल्ला अस्पताल डोटीमा आफ्नो तस्बिर अंकित अक्सिजन हस्तान्तरण गर्दै प्रेम आले।

महामारीले जनता मरिरहेका बेला निवर्तमान मन्त्री आलेले अस्पताल पुगेर आफ्नो प्रचार गरेको काण्ड पनि निकै भाइरल भयो। कतिसम्म भने उनले अक्सिजनको सिलिन्डरमा आफ्नो फोटो टाँसेर वितरण गरे। जेठ १० गते डोटी अस्पतालमा उनले यसरी स्वास्थ्य सामग्री वितरण गरेपछि उनी ट्रोलको मात्रै शिकार भएनन्, चर्को विरोधसमेत भयो। 

पछि उनले सिलिन्डर आफैँले किनेको भनेर बिल देखाए। तर, उक्त बिल नक्कली भएको पाइएको छ। अहिले उनलाई धेरैले ‘अक्सिजन मन्त्री’ भनेर पनि चिन्छन्।