सुदूरपश्चिममा एमाले सत्ता पक्ष कि प्रतिपक्ष ? संसद् सचिवालयमा दुवै पत्र दर्ता
2021/06/07, 9:30
 
aa

आठौं अधिवेशनको दोस्रो बैठकमा शुक्रबार एमालेका प्रदेश सभा सदस्य पठानसिंह बोहराले आफूहरूलाई छुट्टै सिटको व्यवस्था गर्न माग गरे । ‘एमालेले यो सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ त्यसको जानकारी संसद् सचिवालयलाई बुझाइसेको छ,’ उनले भने, ‘नेकपा एमाले प्रतिपक्ष भएको छ । प्रतिपक्ष बेन्चमा बसाइको व्यवस्थापनको लागि पनि म आग्रह गर्दछु ।’

बोहरा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय सांसद हुन् । त्यस लगत्तै माधव नेपाल पक्षीय सांसद अमर साउदले धारणा राखे । विशेष समयको पहिलो वक्ताका रूपमा एमाले संसदीय दलको प्रतिनिधिका हैसियतले प्रदेश सांसद अमरबहादुर साउदले मन्तव्य राखेका थिए ।

उनले स्वभाविक रुपमा सांसद बोहराको भनाइलाई प्रतिवाद गरे । सांसद साउदले बोहराद्वारा व्यक्त धारणा आश्चर्यजनक भएको बताए । उनले भने, ‘हामीले संसदीय दलको आठौं बैठकबाट त्रिलोचन भट्टको वर्तमान सरकारलाई समर्थन कायमै राख्ने सर्वसम्मत निर्णय गरेका छौं,’ उनले थपे, ‘वर्तमान सरकार अझ प्रभावकारी ढंगले सञ्चालन हुनुपर्छ ।’

प्रदेशसभा सचिवालयमा समर्थन र फिर्ताको दुवै पत्र दर्ता

एमाले भित्रैका सांसदले पक्ष र विपक्ष रहेको बताउँदा प्रदेशसभा सचिवालयमा पनि अहिले अन्योलता छाएको छ । प्रदेशसभा सचिवालयमा एमालेले समर्थन कायम राखेको र फिर्ता लिएको दुबै पत्र दर्ता भएका छन् । एमाले स्थायी कमिटीको जेठ १० मा बसेको बैठकले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

एमाले अध्यक्ष ओलीले समर्थन फिर्ता लिएको जानकारीबारे प्रदेश कमिटीलाई पठाएको पत्रसहित प्रदेश कमिटीले सरकारलाई समर्थन नरहेको पत्र संसद् सचिवालयमा दर्ता गराएको छ । प्रदेश अध्यक्ष कर्ण थापाद्वारा हस्ताक्षरित पत्र जेठ १३ गते प्रदेशसभा सचिवालयमा दर्ता गरिएको छ ।

त्यसमा माओवादीबाट मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिएको र सरकारमा रहेका एमालेका मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिएको समेत जानकारी गराइएको छ । एमालेको एक पक्षले संसद् सचिवालयमा सरकारलाई समर्थन फिर्ता लिएको जानकारी गराउँदा संसदीय दलले भने यहि सरकारलाई समर्थन गरेको निर्णयसमेतको पत्र सचिवालयमा दर्ता गराएको छ ।

जेठ १२ गते बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन कायम राख्ने मात्रै होइन सरकारमा सहभागिता वृद्धि गर्नेसमेत निर्णय गरेको थियो । त्यसको दुई दिन पछि एमालेले २ मन्त्री फिर्ता बोलाएर ६ मन्त्री सरकारमा थप्यो ।

परामर्शमा सभामुख

प्रदेश सभा बैठकमा एमालेका सांसदले आफूहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र प्रतिपक्ष भएको भन्दै प्रतिपक्षमा बस्न माग गरेपछि सभामुख अर्जुन बहादुर थापाले यस बिषयमा परमार्थ थालेका छन् ।

आइतबार आफ्नै कार्यकक्षमा सांसदहरूलाई बोलाएर उनले यस बिषयमा सामान्य छलफल गरे । छलफलमा एमालेका सांसद पठानसिंह बोहरा, तारा लामा तामाङ र बलदेव रेग्मी थिए । कांग्रेसबाट दलका नेता रणबहादुर रावल र भरत खड्का थिए । माओवादीबाट प्रमुख सचेतक अक्कल रावल उपस्थित थिए ।

उनीहरूसँग सभामुख थापाले एमालेका सांसदलाई प्रतिपक्ष भनेर राख्न मिल्ने कि नमिल्ने भन्ने बिषयमा छलफल गरेको छलफलमा उपस्थित एक सांसदले जानकारी दिए ।

पार्टीको निर्देशन संसदीय दलले मान्नु पर्ने र संसदीय दल अनुसार संसदमा व्यवस्थापन हुने उपस्थित सबैजसो सांसदले सभामुख थापालाई राय दिएका थिए । सबैको सुझाव पछि सभामुख थापाले तत्काल एमालेका सांसदलाई प्रतिपक्षमा राख्ने बिषयमा सचिवालयलाई कुनै निर्देशन दिएका छैनन् ।