सुदूरपश्चिम प्रदेशका ४२ हजार नागरिकलाई कोरोना विरुद्धको खोप लगाईदैं
2021/06/08, 9:47
 
dd

चीनले अनुदानमा खोप उपलब्ध गराएपछि सरकारले आजदेखि ज्येष्ठ नागरिकलाई कोरोना भाइरस विरूद्धको खोप लगाउँदैछ । सुदूरपश्चिमका ९ जिल्लासगै देशैभरी खोप लगाउने उमेर समूह संशोधन गर्दै सरकारले चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाउन लागेको हो ।

सुदूरपश्चिम प्रदेशमा आजदेखि ४२ हजार नागरिकलाई कोरोना विरूद्धको भेरोसेल खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिममा दुवै मात्राका लागि ८४ हजार डोज खोप पठाएको छ । जसमध्ये ४२ हजार नागरिकलाई भेरोसेल खोप लगाइने भएको हो ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अनुसार पहिलो डोजका लागि कैलालीमा १३ हजार ६ सय १०, कञ्चनपुरमा ७ हजार ५ सय ७०, अछाममा ४ हजार १ सय २, बैतडीमा ३ हजार ७ सय ८०, दार्चुलामा ३ हजार २ सय ४३, बझाङ्गमा ३ हजार १ सय ६८, डोटीमा ३ हजार २०, डडेल्धुरामा २ हजार २ सय ५८ र बाजुरामा भने दुवै डोजका लागि गरी ४ हजार ४ सय ४२ डोज खोप पुगिसकेको छ । 

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख पदम विष्टले बाजुरामा पछि ढुवानी गर्न समस्या हुने भएकाले एकै चोटी पठाइएको बताए । स्वास्थ्य निर्देशनालय डोटीका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थी कोरोना भाइरस विरुद्धको भेरोसेल खोप सरकारले निर्धारण गरेको मापदण्ड अनुसारका नागरिकहरूलाई लगाइने बताए ।