विश्वासकै जगमा अगाडि बढ्छु: मुख्यमन्त्री भट्ट
2021/06/08, 6:14
 
corona

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई विश्वासको मत प्रदान गरेकोमा प्रदेशसभा सदस्यहरुलाई धन्यवाद दिँदै आफूले पाएको सोही विश्वासका आधारमा आगामी दिनमा अघि बढ्ने बताएका छन् ।  विश्वासको मत पाइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सुदूरपश्चिम प्रदेशलाई आफूले तीन वर्षभन्दा लामो समयदेखि नेतृत्व गरेको र यस क्रममा सबै पक्षलाई साथ लिएर हिँडेको स्मरण गराए । उनले अब पनि आफू त्यसैगरी सबैलाई साथ लिएर अघि बढ्ने बताए ।

संविधान, लोकतन्त्र, राष्ट्रियता, संसदीय प्रणालीको विकास गर्ने तथा जनताले दिएको मतअनुसार काम गर्ने नै आफ्नो मुख्य प्राथमिकता रहने उनले बताए । प्रदेशसभाको कार्यकाल करिब डेढ वर्ष अझै रहेको प्रस्ट पार्दै उनले यो अवधिमा आफ्नो नेतृत्वको सरकारले गरेका कामको परिणामहरू धमाधम आउने दावी गरे । मंगलवार प्रदेश सभाको बैठकमा भएको मतदानमा मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा ३० मत परेको थियो ।