सुदूरपश्चिममा दुई महिनापछि कोरोना संक्रमणबाट मृत्यु शून्य
2021/06/09, 9:54
 
dd

गत दुई महिनायता सुदूरपश्चिम प्रदेशमा पहिलो पटक कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको दर शून्यमा झरेको छ । मंगलबारको पछिल्लो २४ घण्टामा यो प्रदेशमा कोरोना भाइरस संक्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । यो अवधिमा एक हजार ५२१ नमूना परीक्षण गरिएकोमा २९३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

योसँगै यो प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ४१ हजार ८६९ पुगेको छ । पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको संख्या ४३६ जना रहेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार प्रदेशका विभिन्न अस्पतालमा भेन्टिलेटरमा चार, सघन उपचार कक्षमा आठ र कोभिड वार्डमा १४ जना बिरामी भर्ना भएका छन ।

दोस्रो लहरको कोरोना भाइरस संक्रमण फैलिएयता जेठ ७ गते एकै दिन प्रदेशमा सबैभन्दा बढी ९८४ जना नयाँ संक्रमित थपिएका थिए । प्रदेशमा सबैभन्दा बढी एकै दिन ३१ संक्रमितको मृत्यु भएको थियो । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञाको अवधि जेठ ३१ सम्म थपिएको छ ।