जताततै अवैध मल, निषेधाज्ञाले  किसानलाई मल पाउन सकस
2021/06/09, 10:06
 
ss

गत साता संयुक्त अनुगमन टोलीले महेन्द्रनगर बजारको तिरुपति ट्रेडर्सको गोदाममा ठूलो परिमाणमा अवैध रासायनिक मेल फेला पारेपछि गोदाम सिल गर्‍यो । किराना पसलको गोदाममा भेटिएको साढे ३ सय बोरा मलको विषयमा जिल्ला प्रशासन कार्यालयले छानविन गरिरहेको छ ।

टोलीले गत साता नै कञ्चनपुरको वेदकोट नगरपालिकाको सुडामा एक एग्रोभेटमा भेटिएको ७ कट्टा मल बरामद गरी भन्सार कार्यालयलाई बुझाएको छ । अन्य थप ४ वटा सहकारी र एग्रोभेटमा सिल गरिएको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले वेदकोट नगरपालिका—७ झजपुरास्थित चक्र फर्सवानको गोठमा भेटिएको ३ सय ९१ बोरा रासायनिक मल बरामद गरी भन्सार कार्यालय बुझाएको छ । भारतबाट अवैध रूपमा भित्रिएको उक्त मल महेन्द्रनगरस्थित तिरुपति बालाजीकै भएको प्रहरीले जनाएको छ ।

लामो समयदेखिको निषेधाज्ञाका कारण किसानहरूले रासायनिक मल पाउन सकेका छैनन् । तर व्यापारीहरूले अवैध रूपमा भित्रिएका मल दोब्बर मूल्यमा बिक्री गरिरहेका छन् । महेन्द्रनगर बजारमै तथा ग्रामीण भेगमा समेत मलको कालोबजारी भइरहेको छ । कतिपय सहकारीहरूले समेत अवैध मल बिक्री गरिरहेका छन् । यसैगरी सरकारी अनुदानको मलसमेत अवैध रूपमा एग्रोभेटहरूमा बिक्री भइरहेको छ ।

‘तिरुपति र ४ एग्रोभेटमा सिल गरिएको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमरबहादुर थापाले भने, ‘करिब ४ सय बोरा बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको छ ।’ उनका अनुसार अधिकांश मल भारतबाट अवैध रूपमा भित्रिएको हो । व्यापारीहरूले ग्रामीण भेगमा समेत गोदाममा थन्क्याएका छन् ।

भारतबाट भित्रिएको गुणस्तरहीन मल अहिले ग्रामीण भेगमा दोब्बर मूल्यमा बिक्री भइरहेको छ । डेढरदुई हजार प्रतिब्याग पर्ने उक्त मल अहिले तीनरसाढे तीन हजारमा बिक्री भइरहेको छ । ‘यो मल ६ महिनासम्म पनि गल्दैन ९पग्लिँदैन०,’ भीमदत्त नगरपालिका— १० का कृषक रामसिंह कार्कीले भने, ‘अहिले महँगो पनि धेरै भएको छ ।’

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक भण्डारीकाअनुसार तिरुपति बालाजीले मलखाद बिक्रीको अनुमति लिएको भए पनि उक्त गोदाममा भएको मलको विषयमा अनुसन्धान भइरहेको बताए । उनले व्यवसायीले आवश्यक कागजातहरू बुझाएको र त्यसको अध्ययन भइरहेको बताए ।

‘हामी अनुसन्धानमै छौं, सबै कागजात मगाएका छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भने, ‘उक्त मल अवैध भएमा आवश्यक कारबाही अगाडि बढाइन्छ ।’ उनले अनुसन्धान नसकिँदासम्म गोदामको सिल नखोलिने बताए । जिल्लाको दक्षिणी क्षेत्र बेलौरी, पुनर्बास र बेलडाडी तथा महाकालीपारिको दोधारा–चाँदनी क्षेत्रबाट भारतीय मलको अवैध आयात हुने गरेको छ ।