प्रतिपक्षी भूमिकामै रहन्छौं: सुदूरपश्‍चिम कांग्रेस
2021/06/09, 6:39
 
ss

मंगलबार मुख्यमन्त्री भट्टले विश्वासको मत लिने क्रममा प्रमुख प्रतिपक्षी दल कांग्रेसले माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकारलाई ढल्न नदिने र आवश्यक परे पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । पछि विश्वासको मत प्राप्त गर्न माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षधर सांसदकै मत प्रयाप्त हुने भएपछि कांग्रेस सांसद तटस्थ बसेका थिए ।

बुधबार प्रदेशसभा बोल्दै कांग्रेस सांसद डिल्लीराज पन्तले आफूहरुले स्थिरता चाहेको र पाँच वर्षसम्म अहिलेकै सरकारलाई नेतृत्व गर्न दिने जनताको म्यान्डेटको पालना गरेको बताए । ‘यसको अर्थ सरकारलाई सहयोग गरे पनि हामी प्रतिपक्षीकै भूमिकामा रहन्छौं,’ उनले भने, ‘तर सरकारले कुरा मात्रै राम्रा हैन, काम पनि राम्रो गरोस् ।’

सरकारले सोमबार प्रदेशसभामा आर्थिक वर्ष ०७८/०७९ को पूर्वबजेट प्रस्तुत गरेको छ । त्यसमाथि बुधबार पनि छलफलका क्रममा सांसदहरुले मन्तव्य राखेका हुन् । छलफलका क्रममा कांग्रेस सांसद पन्तले भने, ‘अर्थमन्त्रीले प्रस्तुत गरेको प्रि–बजेट फुलबुट्टे छ ।’ उनले कार्यान्वयन गर्न नसक्ने कार्यक्रमहरु बजेटमा नराख्न अनुरोध गरे । सरकारले तीन वटा बजेट ल्याएर खर्च गरे पनि कुनै पनि उपलब्धि हुन नसकेको पन्तको भनाइ थियो ।

एमालेका पठानसिंह बोहराले सरकार जबरजस्त छ, सकिन्छ भने छलाङ मारोस् भन्दै व्यंग्य गरे । उनी एमालेभित्र ओली समर्थक सांसद हुन् । माओवादी केन्द्रका सांसद विरभान चौधरीले उत्पादित वस्तुलाई बजारीकरणका योजनामा प्राथमिकता दिनुपर्ने बताए । ‘प्रदेश सरकारले विद्युत् उत्पादनको योजना कार्यान्वयन गर्नु पथ्र्यो,’ उनले भने ।

छलफलका क्रममा एमालेकै माया भट्ट, कृष्णराज सुवेदी, बलदेव रेग्मी, रतन थापा, कांग्रेसका देवराज पाठक, अम्बी थापा, उमादेवी बादी र माओवादी केन्द्रका विरभान चौधरी, प्रेमप्रकाश भट्टले प्रिबजेटमाथि धारणा राखेका थिए ।