सुदूरपश्चिमका मन्त्री सोडारी विरुद्ध जाहेरी दर्ता
2021/06/10, 10:04
 
aa

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । नेकपा एमाले सुदूरपश्चिमका सचिव राजेन्द्र रावलले सोडारीविद्ध जिल्ला प्रहरी कार्यालयमा बुधबार सार्वजनिक हित सुरक्षा, सुविधा हक तथा अभद्र व्यवहार कसुर शीर्षकमा मुद्दा दर्ता गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले मन्त्री सोडारीविरुद्ध जाहेरी दर्ता भएको पुष्टि गर्दै अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दिए । सोडारीले प्रदेश सचिव रावलमाथि आफ्नै कार्यकक्षमा सोमबार साँझ हातपात गर्दै दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।

उनले पार्टी सचिवको हैसियतमा मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशनात्मक पत्र बुझाउने बेला मन्त्री सोडारीले आफूमाथि हातपात गरेको बताएका छन् । मन्त्रीको सचिवालयले भने रावलले नै मन्त्रीमाथि दुर्व्यवहार गरेको बताउँदै आएको छ । मन्त्री सोडारी नेकपा एमालेको माधव पक्षीय नेता हुन् भने सचिव रावल ओली पक्षीय हुन् ।