कञ्चनपुरमा निषेधाज्ञा (लकडाउन)पछि लागुऔषध कारोबार बढेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा निषेधाज्ञापछि लागुऔषध कारोबार गर्ने व्यक्ति प्रकाउ पर्ने क्रम बढेसँगै कोरोबार गर्नेहरुको सङ्ख्या पनि बढेको छ ।
“जिल्लामा वैशाख १६ गतेदेखि लागुऔषध कारोबार गर्ने मानिसहरुको सङ्ख्यामा एकदमै वृद्धि भएको छ, अन्य समय भन्दा निषेधाज्ञापछि आर्थिक गतिविधि ठप्प भएको अवस्थामा लागुऔषध कारोबार गर्ने मानिसहरुको सङ्ख्यामा बढोत्तरी देखिएको छ ।” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर बहादुर थापाले भने, “विभिन्न समयमा निषेधाज्ञा सुरु भएको समयदेखि हालसम्म जिल्लामा लागुऔषध कारोबारमा ४७ जना प्रतिवादी प्रकाउ परेका छन्, जसमध्ये ३० ओटा मुद्धा लागुऔषधको कारोबारमा प्रहरीले दर्ता गरेको अवस्था छ, जम्मा मुद्धा मध्ये केहीलाई पूर्वपक्षको लागि थुनामा राखेको र केही मुद्धा अनुसन्धानको अवस्थामा रहेका छन् ।”
लागुऔषध कारोबारमा प्रहरीले प्रतिवादी पक्राउ गरेको ९० दिनसम्म अनुसन्धान गर्न पाउने कानूनी व्यवस्था रहेको छ । यसैगरी लागुऔषध कारोबार गर्ने तथा सेवन गर्नेलाई जन्मकैद सम्म हुने पनि कानूनी व्यवस्था रहेको उनले बताए ।
जिल्लामा निषेधाज्ञापछि भारतीय सिमाक्षेत्रहरुबाट लागुऔषध भित्रिरहेको अवस्था छ । जिल्लाको दक्षिणी बेलौरी, वेल्डाडी क्षेत्र र पश्चिमी क्षेत्रको दोधरा चाँदनी क्षेत्रबाट जिल्लामा लागुऔषधको कारोबार भैरहेको प्रहरीको अनुमान रहेको छ । यो सँगै लागुऔषध पनि प्रहरीले लागुऔषधको कारोबार गर्ने तथा सेवन गर्ने समुहलाई निगरानी गर्ने र कारवाही गर्ने कुरालाई पनि बढाएको छ ।
“जिल्लामा प्रत्येक हप्ता तथा प्रत्येक दिन प्रहरीले लागुऔषध कारोबार गर्ने मानिसहरुलाई पक्राउ गर्ने सङ्ख्या एकदमै बढी हुँदै गएको छ, धेरै जस्तो सामान्य घरपरिवार देखि ठूलो घरपरिवार सम्मका युवाहरु लागुऔषध कारोबारमा संलग्न भएको पाइन्छन् ।” डिएसपी थापाले भने, “सुरुमा केही पारिवारिक समस्या वा अन्य कुनै समस्याले मानिसले लागुऔषध सेवन गरेपनि पछि गएर लत लाग्ने हुँदा यसले सामाजिक अपराध पनि बढाउने गर्दछ, त्यसकारण प्रहरीले पनि लागुऔषधको कुराहरुमा निगरानी गर्ने तथा प्रकाउ गर्ने कुरालाई बढाएको छ ।”
यो सँगै प्रहरीले निषेधआज्ञा पनि अदालतबाट सजाय पाएर फरार रहेका ६ जना प्रतिवादीलाई पनि प्रकाउ गरेको उनको भनाई रहेको छ । यसैगरी जिल्लामा निषेधाज्ञाको समयमा ७ ओटा जबरजस्ती करणीका मुद्धा दर्ता भएका छन् भने १० जना मानिसले झुन्डिएर आत्महत्या गरेका छन्।