सुदूरपश्चिमका ओली समूहका सांसदले भने: प्रदेश सरकार बाेझ भयाे
2021/06/12, 10:35
 
aa

सुदूरपश्चिम प्रदेशसभामा बोल्दै सत्तारुढ दल नेकपा एमाले ओली समूहका सांसद रतनबहादुर थापाले  नीति तथा कार्यक्रमको आलोचना गर्ने क्रममा प्रदेश सरकार बोझ भएको टिप्पणी गरेका छन् । ‘संघीयतामा प्रदेश सरकार बोझ भएको भन्ने सबैको गुनासो छ,’ सांसद रतनबहादुर थापाले भने, ‘त्यसमा पनि सुदूरपशिचम प्रदेश सरकार एक नम्बर बोझ भएको छ ।’ उनले वर्तमान सरकाबाट कुनै पनि राम्रो काम नभएको टिप्पणी गरे ।

सुदूरपश्चिम प्रदेशसभामा आगामी वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि  सुरु भएको छलफलका क्रममा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेका सांसदहरु लचक देखिएपनि सत्ता साझेदार दल नेकपा एमालेमा अध्यक्ष केपी ओली निकट सांसदहरुले नीति तथा कार्यक्रमको चर्को आलोचना गरेका हुन्।

एमालेकै ओली निकट अर्का सांसद लिलाधर भट्टले पनि सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमको उपहास गरेका छन् । उनले हरेक निर्वाचन क्षेत्रमा २५ शय्याको अस्पताल निर्माण गर्ने कुरा हास्यास्पद भएको बताए । ‘संकट पर्दा त दुई वर्षसम्म १० शय्याको अस्पताल बनाउन नसक्ने सरकारले २५ बेडको अस्पताल बनाउने भन्दा गजब लागेको छ,’ उनले भने ।

‘यसअघि प्रस्तुत बजेटको प्राथमिकता र सिद्धान्तसँग नीति तथा कार्यक्रम ५० प्रतिशत मेल खाँदैन,’ सांसद भट्टले भने, ‘अब बजेट आउने बेला प्राथमिकता, सिद्धान्त र नीति तथा कार्यक्रममा उल्लेख भएको कार्यक्रमभन्दा एक सय प्रतिशत फरक बजेट आउने होला ।’ प्रतिपक्षी दलका सांसद भरतबहादुर खड्काले सरकारसँग समन्वय र सहकार्य गर्न तयार रहेको बताएर लचकदार टिप्पणी गरेका थिए ।

यतिबेला सुदूरपश्चिममा एमाले आपसी किचलोमा फसेर दुई धारमा विभाजित एमालेभित्र माधव नेपाल पक्षधर संसदीय दलका १७ जना सांसदहरु माओवादी नेतृत्वमा रहेको मुख्यमन्त्री त्रिलोचन भट्टको सरकालाई विश्वासको मत दिएका थिए भने ७ जना एमाले सांसदहरुले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए । त्यसलगत्तै आएको सरकारले बिहीबार प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ ।