संक्रमित खोज्दै स्वास्थ्यकर्मी घर–घरमा
2021/06/13, 10:46
 
dd

कोरोना संक्रमित बढ्न थालेपछि दार्चुलाको व्यास गाउँपालिकामा स्वास्थ्यकर्मी स्थानीयका घर–घरमा पुगेर संक्रमितको खोजी गर्न थालेका छन् । अहिले स्वास्थ्यकर्मीले सबै वडाका प्रत्येक घरमा गएर बिरामीको एन्टिजेन परीक्षण पनि गर्न थालेका हुन् ।कोरोनाको दोस्रो लहरमा जिल्लाका अन्य पालिका जस्तै व्यास गाउँपालिकामा पनि संक्रमित गाउँगाउँमा छन् ।

अन्य स्थानीय तहको तुलनामा कम भए पनि पछिल्लो समय कोरोना महामारी समुदायस्तरमै फैलिन थालेपछि गाउँ–गाउँमा स्वास्थ्यकर्मी पठाएर संक्रमितको खोजी गर्न थालिएको व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले बताए । उनले भने, ‘समुदायमा संक्रमण फैलिएको पाइएपछि जनप्रतिनिधिसहितको स्वास्थ्यकर्मीको टोली घर–घर गएर कोरोनाका बिरामी खोजी भइरहेको छ ।’

‘गाउँमा ज्वरोका बिरामी धेरै छन् । परीक्षण गर्न सकिएको छैन,’ उनले भने, ‘गाउँपालिकासित कोरोना परीक्षण गर्ने किट उपलब्ध नहुँदा परीक्षण गर्न सकिएन् ।’ जिल्ला स्वास्थ्य कार्यालयलाई कोरोना परीक्षण किट माग गरे पनि थोरै मात्र पठाउने गरेको छ । स्वास्थ्यकर्मीहरूले अहिले समुदायमा गएर कोरोना परीक्षण र औषधि वितरणजस्ता कार्यक्रम गरेका छन् ।