नि:शुल्क अक्सिजन अभियानमा सनराईज बैंकद्धारा एक लाख रुपैया सहयोग
2021/06/14, 2:53
 
dharma

कोरोना संक्रमितहरुको जीवन रक्षाका लागि नि:शुल्क अक्सिजन अभियान सञ्चालन गर्दै आएको ह्युमानिटी फाउण्डेसन नेपाललाई सनराईज बैंक धनगढीले एक लाख रुपैया सहयोग गरेको छ ।

नागरिकहरुको जीवन रक्षाका लागि ह्युमानिटी फाउण्डेसनबाट जारी नि:शुल्क अक्सिजन अभियानमा सनराईज बैंक धनगढीका शाखाका तर्फबाट प्रबन्धक धर्मराज बिष्टले हिजो एक लाख रुपैयाको चेक हस्तान्तरण गरे ।

ह्युमानिटी फाउण्डेसन नेपालद्धारा नागरिकको जीवन रक्षाका लागि ४५ दिनदेखि जारी निशुल्क अक्सिजन अभियान र अक्सिजन बैंकका लागि स्वस्फूर्त  रुपमा सहयोग गरेकोमा फाउण्डेसनका कोषाध्यक्ष मानसिंह साउँदले सनराईज बैंक प्रति आभार व्यक्त गरे ।

सनराईज बैंकका प्रबन्धक बिष्टले सामाजिक उत्तरदायित्व बहन गर्दै नागरिकहरुको जीवन रक्षाका लागि ह्युमानिटी फाउण्डेसनद्धारा सञ्चालित नि:शुल्क अक्सिजन अभियानमा सहयोग गरेको बताए ।

अक्सिजन नपाएर कोरोना संक्रमितहरुको मृत्यु हुन थालेपछि ह्युमानिटी फाउण्डेसन नेपालले सुदूरपश्चिमका सरकारी अस्पतालहरुमा निशुल्क अक्सिजन उपलब्ध गर्न अभियान सञ्चालन गर्दै आएको हो । कोरोना संक्रमितहरुलाई निशुल्क र सहज रुपमा अक्सिजन उपलब्ध गराउने उद्देश्यले बिभिन्न संघसंस्था र मनकारी व्यक्तिहरुको सहयोग र सहकार्यमा फाउण्डेसनले अक्सिजन बैक समेत सञ्चालन गर्दै आएको छ ।