पिसावको थैली बोकर बाँचिरहेका कमले धामीको माया मेट्रो अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने
2021/06/15, 10:54
 
dd

आर्थिक अभावका कारण चार वर्षदेखि प्रोटेस्टको अप्रेसन गर्न नसकेर भौतारिरहेका बैतडी सिगास गाउँपालिका–१ माणैका कमले धामीको धनगढी स्थित माया मेट्रो अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने भएको छ । आर्थिक अभावमा जिन्दगीका ६ दशक एउटा भोटो र कछाडमा बिताएका बैतडी सिगास गाउँपालिका–१ माणैका कमले धामी प्रोटेस्टको समस्या (पिसाव थैलीमा मासु पलाएका) का कारण चार वर्षदेखि पाईपद्धारा पिसाव निकालेर शरीरमा प्लाष्टिकको थैलो बोकेर बाँचिरहेका छन । 

चार वर्षअघि पिसाव बन्द भएपछि डडेल्धुरा अस्पताल पुगेका धामीलाई चिकित्सकले अप्रेसन गर्न सुझाव दिएका थिए । त्यहाँ अप्रेसन संम्भव थिएन । नेपालगञ्ज वा अन्यत्र उपचारका लागि जान उनीसंग पैसा थिएन । जिन्दगीमा दोस्रो जोर लुगा किन्न नसकेका धामीका लागि प्रोटेष्टको अप्र्रेसनका लागि पैसा जुटाउनु असंम्भव थियो ।

चिकित्सकले पाईपद्धारा पिसाव प्लाष्टिकसम्म आउने व्यवस्था गरिदिए । त्यसयता उनी जिउमा प्लाष्टिकको थैली बोकेर बाँचिरहेका छन् । बैतडीका पत्रकार गोकर्ण दयालले धामीका बारेमा समाचार बाहिर ल्याएका थिए । समाचारपछि माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले अस्पतालले निशुल्क शल्यक्रिया गर्ने प्रतिबद्धता जनाएका छन् ।

चिकित्सकहरुले समेत धामीको शल्यक्रिया निशुल्क गरिदिने प्रतिबद्धता गरेका छन् । बरिष्ठ मुत्ररोग विशेषज्ञ सर्जन डा. नरेशमान श्रेष्ठ, बरिष्ठ  ल्याप्रोस्कोपी तथा जनरल सर्जन डा. बिनय तिमिल्सिना, एनेस्थेसियोलोजिस्ट डा. मोहन भट्टराई लगायतको टिमले शल्यक्रिया गर्नेछ ।

शल्यक्रिया बाहेकको बाँकी खर्च माया मेट्रो अस्पतालले व्यहोर्ने अध्यक्ष साउँदले बताए । अध्यक्ष साउँदले लकडाउन खुलेपछि धामीको शल्यक्रिया गर्ने बताए । यसअघि पनि माया मेट्रो अस्पतालले  असहाय, विपन्न तथा आर्थिक अवस्था कमजोर भएकाहरुको निःशुल्क अप्रेसन तथा उपचार गरिसकेको छ ।