महाकाली नदीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह
2021/06/18, 1:59
 
dd

महाकाली नदीको कञ्चनपुर जिल्लाको तटीय क्षेत्रमा पानीको बहाब उच्च बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी ‘अति जरुरी सूचना’ अनुसार बाढीको जोखिम बढ्दै गएको छ । नदी तटीय क्षेत्रमा सतर्क रहन समेत प्रशासनले आग्रह गरेको छ ।

महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाको असार २ गते विहानको अपडेट अनुसार महाकाली नदी दार्चुलास्थित दत्तुको बाढी मापन केन्द्रमा जलसतह ५.८० मिटर र परिगाउँ डडेल्धुरामा जलसतह ३.५० मिटर पुगेको र बढ्दो क्रममा रहेको एवं माथिल्लो क्षेत्रमा हल्का बर्षा जारी रहेकोले महाकाली नदीको कञ्चनपुर तटीय  क्षेत्रमा बाढी आउन सक्ने जोखिम रहेको पुर्वानुमान रहेको छ ।

बाढीको जोखिम रहेकोले सो क्षेत्रमा नजान, जोखिम आंकलन गरि सुरक्षित स्थानमा स्थानान्तरण हुन एवंम उच्च सतर्कता अपनाउन समेत कञ्चनपुर प्रशासनले सम्बन्धित सवैलाई जानकारी गराएको छ । त्यस्तै प्रशासनले कुनै विपद वा घटना भएमा तत्काल जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रलाई सम्पर्क गर्न अनुरोध गरेको छ । 

उता दार्चुलामा पनि लगातारको वर्षाका कारण महाकाली नदीको सतह बढ्दै गएको छ । महाकालीमा पानीको सतह बढेसँगै जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले सजकता अपनाउन सबैमा आग्रह गरेको छ । आज बिहान महाकाली नदीको बहाव पाँच मिटर ८० सेन्टिमिटर पुगेको छ । प्रहरी चौकी दत्तुका अनुसार छ मिटर नाघ्यो भने खतरा हुन्छ । नदीमा ढुङ्गा तथा ठूला काठ बगिरहेका छन् ।

नदी बढेर सदरमुकाम खलङ्गाको बङ्गाबगड क्षेत्रमा तटबन्ध माथि चढेको छ । पत्रकार भोजराज जोशीका अनुसार निर्माणाधीन तटबन्धभन्दा माथि महाकाली पुगेको छ । अहिले नदीले पुरानै स्वरुप लिएको छ । नदीमा पानीको बहाव बढ्दा आसपासका क्षेत्रमा जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताऐ । नदी तटीय क्षेत्र तथा जिल्लाका अन्य नदी तथा खोलामा बाढी आउन सक्ने सम्भावना रहेकाले जिल्लावासीमा सावधानी र सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । 

गत जेठ २८ गते मनसुन भित्रिएसँगै देशभर लगातार जसो पानी परिरहेको छ । यो हप्ता मनसुन सक्रिय भई देशभर पानी पर्ने हुँदा बाढी र पहिराको जोखिम रहेकाले सचेत रहन प्रशासनले आग्रह गरेको हो । विसं २०७० को महाकाली बाढीपछि तटबन्ध निर्माण भएका कारण अहिलेसम्म सदरमुकाम सुरक्षित रहेको भए पनि सदरमुकामभन्दा माथिल्लो क्षेत्र र दक्षिण क्षेत्रका बस्ती अहिले पनि जोखिममा छन् ।