सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको डोटीको केआईसिंह गाउँपालिकाको क्वारेन्टाईनमा मृत्यु भएका एक जना युवकको शव कोरोनाको रिपोर्ट नआउँदा दुई दिनदेखि क्वारेन्टाईनमै रहेको छ । मृत्यु भएको दुई दिन हुँदा पनि पीसीआर रिपोर्ट नआउँदा परिवारका सदस्यहरुले शव उठाउन सकेका छैनन् ।
आइतबार बिहान ३ बजे केआई सिंह गाउँपालिकाको वडा नम्बर ३ स्थित सिताराम आधारभूत विद्यालयको क्वारेन्टाइनमा मृत्यु भएका १९ वर्षीय नरेश ऐरको कोरोना रिपोर्ट नआएका कारण दाहसंस्कार हुन सकेको छैन । उनको शव दुई दिनदखि क्वारेन्टाईनमा अलपत्र छ । क्वारेन्टाईमा उनीसंगै रहेका ९ जना आईतबार बिहानदेखि विद्यालयको अर्को कोठामा सारिएका छन् ।
धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा शनिबार बेलुका ६ बजे नै मृतक र उनीसँगै बसेका अन्य ९ जनाको स्वाब संकलन गरी पठाईएको थियो । तर कसैको रिपोर्ट पनि अहिलेसम्म आएको छैन । रिपोर्ट नआउँदा स्थानीय बासिन्दा र क्वारेन्टाईनमा रहेका अन्य व्यक्तीहरु निकै आतंकित भएका छन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले भने रिपोर्ट आउन ढिलाई हुने भएकोले केही व्यक्ती मिलेर शवको दाहसंस्कार गर्न निर्देशन दिएको स्थानीयले बताएका छन् ।
डाक्टर अवस्थीले दाहसंस्कारमा जाने व्यक्तीहरुलाई समेत क्वारेन्टाईनमा राख्न सुझाव दिएका छन् । तर स्थानीय बासिन्दाले भने कोरोनाको रिपार्ट नआई दाहसंस्कार गर्न तयार छैनन । गर्मीका कारण लाश गन्हाउन थालेको छ । क्वारेन्टाईनको वरिपरी समेत दुर्गन्ध फैलिरहेको छ । केआई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले दाहसंस्कारका लागि नेपाली सेना तयारीमा रहे पनि रिपोर्ट नआउन दाहसंस्कार गर्न नसकिएको बताए ।
डोटीको परीक्षणका लागि धनगढी स्थित प्रयोगशालमा पठाईएको स्वावको नतिजाको पखाईमा रहेका स्थानीय बासिन्दाले यथाशिघ्र रिपोर्ट दिन आग्रह गरेका छन् । भारतको दिल्लीबाट २० गते आएका स्थानीय १९ वर्षीय ऐर त्यही दिनदेखि क्वारेन्टाईमा बस्दै आएका थिए । शनिवार अपरान्ह ४ बजे बेहोस भएर ढलेका ऐरको केही समयपछि होस खुलेपनि आईतवार बिहान ३ बजे मृत्यु भएको थियो ।
ऐरलाई बिसञ्चो भएको थाह पाएपछि उनका बुवा शनिवार साँझदेखि हेरचाह र स्याहारका लागि क्वारेन्टाईनमा बस्न थालेका थिए । ऐरको मृत्युपछि उनका बुवा पनि क्वारेन्टाईनमा बस्न थालेका छन् । मृतक ऐरको कोरोनाको रिपोर्ट सोमबार साँझसम्म आउने धनगढी स्थित प्रयोगशालाले जनाएको छ ।