सुदूरपश्चिममा बजेट माथिको छलफल: सत्तारुढ असन्तुष्ट, प्रतिपक्ष आक्रोसित
2021/06/22, 9:54
 
sava

आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि प्रदेश सरकारले ल्याएको बजेट माथिको छलफल सुदूरपश्चिम प्रदेशमा सुरु भएको छ । पहिलो दिनको छलफलमा सत्तारुढ दलका दुई जना र प्रमुख प्रतिपक्षी दलका तर्फबाट २ जनाले विशेष सामयमा धारणा राखेका थिए ।सत्तारुढ दलबाट नेकपा एमालेका अमर साउद र माओवादी केन्द्रका प्रेमप्रकाश भट्टले बजेट माथिको छलफलमा आफ्नो धारणा राखे ।

उनीहरु दुबै जनाले बजेट माथि असन्तुष्टि व्यक्त गर्दै समर्थन गरेका थिए ।साउदले विगतमा भन्दा यस वर्षको बजेट केहि सन्तुलित रहेपनि कार्यान्वयनको पक्ष फितलो हुन सक्ने बताए । उनले धेरै योजना र रकम कम रहेको भन्दै सरकार प्रति गुनासो गरे। ‘योजनाको संख्या घटाएर बजेट बढाउनु पर्ने थियो । तर, त्यस्तो भएन ’उनले भने ‘योजना धेरै भए । बजेट कम भयो । ’ माओवादीका सांसद भट्टले बजेटले समृद्धि ल्याउन नसकिने दाबी गरे ।

‘गत वर्ष ४० ÷५० लाख भएका योजनामा अहिले ९÷१० लाख आएको छ । यसले योजना सम्पन्न गर्न समस्या हुन्छ’ उनले भने ‘यसरी समृद्धि आउँदैन । काम सम्पन्न गर्न मात्रै पनि ७÷८ वर्ष लाग्छ ।’ प्रदेश गौरवका योजनामा समेत कम बजेट आएको भन्दै उनले असन्तुष्टि पोखे । प्रदेश गौरवका योजनाहरू तीव्रता नदिँदा जीर्ण हुने अवस्थामा पुग्न सक्ने उनको भनाइ थियो ।

उनले भने, ‘पोहोर साल करिब १० करोड बजेट भएको स्थानमा अहिले ३ करोड मात्रै राखिएको छ । ७५ प्रतिशत बजेट घटेको छ। यसरी त समस्या हुन्छ । प्रदेश सभा सदस्य भट्टले सांसदबाट आएका योजनामा कम रकम दिएर बिचौलियाबाट आएका योजनामा बढि रकम दिएको आरोप लगाए । ‘न गाउँपालिकाका जनप्रतिनिधि ले दिएका हुन् न त्यहाँका पार्टीका नेताले दिएका हुन् तर ती योजनामा ५० लाख १ करोड रकम गएका छन्’ उनले भने ‘हाम्रा योजना पातला भएका छन् । ती योजना मोटा भएका छन् । ’उनले मन्त्री र सांसद बिच विभेद भएको आरोप लगाए । ‘नीति बनाउने हो भने सबैको लागि हुनुपर्छ । मन्त्रीका लागि अलग र माननीयका लागि अलग नीति बनाउँदा समृद्धि ल्याउन सकिँदैन’ उनले भने ।

काँग्रेस आक्रोसित
नीति तथा कार्यक्रम पारित गर्दा मौन समर्थन गरेको नेपाली काँग्रेसले  बजेट माथिको छलफलमा भने आक्रोश पोखेको छ । नेपाली काँग्रेसका सचेतक टेक बहादुर रैकाले आफ्ना योजना नपरेको भन्दै फिर्ता लैजान आग्रह गरेका थिए ।

‘कृषि मन्त्रालयका ४ वटा योजना थियो केहि दिएन । मन्त्रालयका ५ मन्दिर मागे । मेरो फायल नै गायब भयो’ उनले भने, ‘जुन मन्त्रालयले जति दिनुभएको त्यो फिर्ता गर्न तयार छु । ’दलित बस्तीमा ५ लाखको बोरिङ दिएको भन्दै उनले एक लाखले बोरिङ तयार हुन नसक्ने बताए ।

उनले सरकारले ल्याएको नीतिलाई सम्बधीत मन्त्रालयले सहयोग नगरेको टिप्पणी गरे ।नेपाली काँग्रेसकै प्रदेश सभा सदस्य कर्ण मल्लले पनि सरकारले ल्याएको बजेट उपयुक्त नभएको भन्दै भर्त्सना गरे । उनले उक्त बजेट सरकारको लागि गलपासो बन्ने बताए । ‘बजेटमा प्रदेश सभा सदस्यहरूको माग सम्बोधन भएन’ उनले भने, ‘बिचौलियालाई माध्यम बनाएर जुन बजेट तयार गर्नुभएको त्यो तपाइहरूको गलपासो बन्ने छ ।’

उनले प्रदेश सरकारले बजेट मार्फत प्रदेश सभालाई झुक्कायो समेत आरोप लगाए । ‘प्रतिपक्षको मौनतालाई सरकारले कमजोरी ठान्यो । प्रदेश सभालाई झुक्कायो’ उनले भनेका थिए ।सरकारले ल्याएको बजेटले भ्रष्ट्राचार प्रसय दिने दाबी गरे ।भष्ट्रचारलाई बढवा लिने गरि बजेट आएको छ । पाँच दर्जन भन्दा बढि व्यक्तिको नाममा योजना छन् उनले भने, २५ हजार भन्दा बढि दर्जनौँ योजना छन् । २३ ठाउँमा कार्यकर्ता पोस्ने गरि बजेट विनियोजन गरिएको छ ।

असार १ गते आर्थिक वर्ष २०७८÷७९ का लागि प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको थियो । सोमबार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह बजेट माथि छलफल गर्न प्रस्ताव पेश गरेपछि धारणा राखेका थिए ।