कैलालीमा बिहान ११ बजेसम्म सञ्चालन हुदैँ आएका पसलहरु अब दिउँसो ३ बजेसम्म खोल्न पाईने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठकले आजदेखि लागु हुने गरी अत्यावश्यक सामग्री प्रवाह गर्ने बाहेक सबै खाले पसलहरू प्रत्येक दिन बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म खुला गर्ने निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए ।
जसमा उद्योग, कलकारखाना लगायत, सार्वजनिक तथा निजी निर्माण कार्य सञ्चालन गर्न पाइने छ । होटल रेष्टुरेन्ट, खाजा पसलले होम डेलिभरी तथा टेक अवे सेवा (खाना र खाजा लगेर जानुपर्ने) बिहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाउनेछन । यस्तै, वर्कसपमा कम्तीका ३ जना कर्मचारी राखेर बिहान ७ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न प्रशासनले अनुमति दिएको छ ।
यद्दपि सो अवधिमा जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्न भने पसल सञ्चालक र ग्राहकलाई अनिवार्य गरिएको छ । प्रजिअ रिजालले डीसीएसमसीको निर्णय उल्लंघन गर्दै तोकिएको समयपछि पसल खोलेको पाईएमा १ महिना जरिवाना वा ५ लाख रुपैया जरिवाना वा दुबै सजाय गरिने बताए ।