नेकपा एमालेका प्रदेश सभा सदस्य लिलाधर भट्टले सुदूरपश्चिम सरकारले ल्याएको बजेट दिशाहिन र लक्ष्यहिन भएका भएको तर्क गरेका छन्। शुक्रबार प्रदेश सभा बैठकमा बोल्दै भट्टले सुदूरपश्चिम सरकारको बजेट असन्तुलित भएको बताएका हुन् । मन्त्री र पहुँचवाला नेताका क्षेत्रमा करोडौँ रुपैयाँ बजेट हालिएको तर कतिपय आवश्यक भएका ठाउँमा सरकारले बजेट नहालेको आरोप उनले लगाए ।
अछाममा जिल्लाभरिका सडकका लागि जम्मा पाँच करोड छुट्याएको सरकारले नेता भीम रावलको घर जाने सडकमा भने छ करोड बजेट हालेको भट्टले बताए ।‘अछामका ६० वटा सडकमा जम्मा पाँच करोड बजेट छ । तर कुनै एक जना नेताको घर जाने बाटोमा मात्रै छ करोड हालिएको छ ।’ भीम रावलको नाम नलिएरै भट्टले भने ।
नीति तथा कार्यक्रममा नभएका र एजेण्टले ल्याएका योजनामा बजेट परेका र सरकारले एजेण्टबाट काम गरिरहेको उनको आरोप थियो । कुनै कम्पनी र फमको नामै तोकेर सरकारले पाँच करोड दिएको भन्दै उनले आलोचना गरे । भट्टले भने, ‘रातो किताबमा कुनै फर्म र कम्पनीको नामै तोकेर बजेट दिइएको छ । यो संस्थागत भ्रष्टाचारको नमुना हो । दुनियामा कहीँ नभएको कुरा गरिएको छ ।’
एक जिल्ला एक नमुना उद्योगका लागि पाँच लाख छुट्याइएको तर एक जिल्लामा विशेष खालका मन्दिर बनाउनु भनेर एउटै मन्दिरमा ५०-६० लाखसम्म छुट्याइएको उनले बताए । बजेटको भागवण्डामा रमाएको भन्दै भट्टले प्रतिपक्षी काँग्रेसको पनि आलोचना गरे । ‘प्रतिपक्षीको लोकतन्त्र भनेको सम्झौता र गोपनीय भागवण्डामा आधारित छ ।’ काँग्रेसलाई लक्षित गर्दै उनले भने, ‘हिजो नीति तथा कार्यक्रम आउँदा त्यसअघि अध्यादेश ल्याउनु पर्छ भनेर काँग्रेसले भनेन तर रातो किताबमा योजना नपरेपछि अहिले विरोधमा उत्रिएको छ ।’
सार्वजनिक लेखा समितिको भूमिकामाथि पनि उनले प्रश्न उठाए । नेपाल पक्षका सांसदलाई लक्षित गर्दै भट्टले पार्टीको निर्णय उल्लंघन गरेर राज्यस्रोतको दोहन गरिरहेको आरोप लगाए । आफूहरुलाई सदनमा बोल्न नदिने प्रयास भएको भन्दै उनले सात जनाले लिखित माग गरेपछि समय पाएको बताए । प्रदेश सभामा एमालेका २४ सांसदमध्ये ओली पक्षमा सात जना छन् । सातै जनाको क्षेत्रमा सरकारले बजेट नदिएको भन्दै उनले आक्रोश पोखे ।