सुदूरपश्चिम प्रदेश सभा सदस्य भरत खड्काले सुदूरपश्चिम प्रदेश सरकारको आयु कम रहेको बताएका छन् ।
आइतबारको प्रदेश सभा बैठकमा नेपाली काँग्रेसका सांसद खड्काले सरकार धेरै दिन चल्न नसक्दे दाबी गरेका हुन् ।
आइतबार प्रदेश सभामा आर्थिक बर्ष २०७८÷०७९ को राजश्व र व्याय को वार्षिक अनुमान बजेटसँग सम्बन्धित सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको बिधेयक र आर्थिक बर्ष २०७८÷०७९ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केहि रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्ने बनेको विधेयक माथिको छलफलमा सांसद खड्काले आयु कम रहेको भबिश्वाणी गरेका हुन् ।
‘सरकारले धेरै कुरामा सच्चिँदै जानुपर्ने छ’ उनले भने, ‘यो तालले यो सरकार धेरै दिन चल्दैन ।’ उनले मौन रहेको भन्दै पार्टीलाई कमजोर नठान्न समेत चेतावनी दिए । ‘हाम्रो राजनैतिक सहिष्णुतालाई कमजोरीका रुपमा नलिन अनुरोध गर्दछु’ उनले भने, ‘सरकारको भूमिका कमजोर छ ।’
माओवादी नेतृत्वको सरकारलाई जुन सकै अवस्थामा पनि ढल्न नदिने काँग्रेसले निर्णय गरेको थियो । मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदा मत नपुग्ने अवस्थामा मत दिने निर्णयमा पुगेको काँग्रेसले मत दिनु नपर्ने भएपछि तथस्त बसेको थियो । सरकारलाई मौन समर्थन गरेको काँग्रेसले बजेटमा सरकारले कमजोरी गरेको भन्दै आलोचना गर्न थालेको हो। यस अघि बुधबार पनि सरकारले असंवैधानिक रुपमा नीति तथा कार्यक्रम र बजेट ल्याएको भन्दै संसद् अवरोध गरेको थियो ।