वैतडीमा क्वारेन्टाईनमा मृत्यु भएका युवकमा कोरोना नेगेटिभ  
2020/06/09, 10:50
 
korona

वैतडीमा क्वारेन्टाईनमा मृत्यु भएका युवकमा कोरोना नेगेटिभ आएको छ । क्वारेन्टाइनमा मृत्यु भएका पाटन ६ सन्तोलीका ३० बर्षीय हरिश लुहारको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । लुहारको गत शनिवार पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा मृत्यु भएको थियो ।

मृतक लुहारको थ्रोट स्वाबको नमूना धनगढी प्रयोगशालामा परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले जानकारी दिए । गत शनिवार बिहान मात्रै भारतको बेंगलोरबाट फर्केका उनी साँझ एक्कासी बेहोस भएका थिए ।

बेहोस भएका लुहारलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचारका लागि लगिएकोमा शनिवार राती ८ बजे स्वास्थ्य केन्द्रमै मृत्यु भएको थियो । यसअघि पनि बैतडीका क्वारेन्टाइनमा २ जनाको मृत्यु भएको थियो । ती दुवै जनाको रिपोर्ट पनि नेगेटिभ आएको थियो ।

मलामी सबै आईसोलेसनमै 
क्वारेन्टाइनमा मृत्यु भएका पाटनका युवकको मलामी गएकाहरुलार्ई आइसोलेसनमा राखिएको छ । क्वारेन्टाइनमा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नआउँदै दाहसंस्कार गरिएकोले मलामी जाने ६ जनालाई आइसोलेसनमा राखिएको पाटन नगरपालिकाका स्वास्थ्यशाखा प्रमुख मदनसिंह महराले जानकारी दिए ।

उनीहरुलाई पाटनस्थित शैक्षिक तालिम केन्द्रमा बनाईएको आइसोलेसनमा राखिएको छ । आएसोलेसनमा राखिएको सबैको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । युवकको आइतबार क्वारेन्टाइनमै संगै बसेका आफन्तले दाहसंस्कार गरेका थिए । मृतकको रिपोर्ट नेगेटिभ आएको भएपनि उनीहरुलाई १४ दिन आइसोलेसनमै राखिने छ । 

जेठ २३ गते भारतको बेंग्लोरबाट आएका मृतकसंगै उनका १४ जना आफन्त कैलालीको गौरीफन्टा नाका हुँदै पाटन पुगेका थिए ।