कैलालीमा जारी निषेधाज्ञा अझ खुकुलो बनाएर एक साता थप्ने तयारी गरिएको छ । निषेधाज्ञाको स्वरूप परिवर्तन गरि मंगलबारसम्म जारी गरिएको निषेधाज्ञा लम्विने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले जानकारी दिए ।
कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि कैलालीको स्थानीय प्रशासनले बैशाख १६ गतेदेखि क्रमिक रुपमा निषेधाज्ञा थप्दै आएको छ । कैलालीमा दुई महिनादेखि निषेधाज्ञा थपिदैं आएको छ । पछिल्लो समयमा भने भने निषेधाज्ञालाई खुकुलो पार्दै लगिएको छ ।
कैलालीमा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू भईसकेको छ । असार ८ गतेबाट जोर बिजोर प्रणाली लागु भएको भएपनि सार्वजनिक सवारी साधन भने सञ्चालन हुने नहुने विषयमा अन्यौलता कायमै रहेको छ । गृह मन्त्रालयको निर्देशन अनुसार त्यस बारेमा अगाडी बढ्ने सूचना अधिकारी जोशीले जानकारी दिए ।
सार्वजनिक यातायात, सभा सम्मेलन, होटल, सामूहिकमा गरिने कार्यलाई भने अझै सञ्चालनमा रोक लगाईनेछ । असार ८ गतेदेखि भने स्वास्थ्य मापदण्ड अपनाएर सरकारी कार्यालय सञ्चालन गर्न दिईएको छ । दिउँसो ३ बजेसम्म खुल्ला रहदै आएका सबै पसलहरु खुल्ने समय पनि बढाईने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अत्यावश्यक सवारी साधन, यस्तै सरकारी, निजी तथा मालबाहक लगायतका सवारी साधन सञ्चालन गर्न पाईनेछ । उद्योग, कलकारखाना लगायत, सार्वजनिक तथा निजी निर्माण कार्य पनि सञ्चालनमा आएका छन् । होटल रेष्टुरेन्ट, खाजा पसलले होम डेलिभरी तथा टेक अवे सेवा बिहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाईने छ ।
सरकारी कार्यालय, सार्वजनिक निकाय, बैंक वित्तीय संस्थाहरू, गैरसरकारी संस्था स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर तथा आलोपालो गरी सञ्चालन गर्न सकिने छ । वर्कसप कम्तीका ३ जना कर्मचारी राखेर बिहान ७ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न प्रशासनले अनुमति दिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको विगतको व्यवस्था कायमै रहेको छ । होटल तथा पार्टी प्यालसेमा हुने विवाह व्रतवन्धलाई पनि रोक लगाइनेछ । सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान बन्द रहनेछन्, भने विवाह ब्रतबन्धको हकमा स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १० जनासम्म मात्रै भेला हुन पाउनेछन ।
नित्यकर्म बाहेकका धार्मिक कार्यक्रममा पनि सञ्चालन गर्न पाइने छैन । भौतिक उपस्थितिमा पठनपाठन पनि गर्न पाइने छैन् । अहिले जारी निषेधाज्ञालाई थप खुकुलो बनाएर एक साता लम्बाईने निषेधाज्ञाको लचकताको विषयमा बैठकपछि मात्रै थाहा हुने सुचना अधिकारी जोशीले बताए ।