सुदूरपश्चिम प्रदेशको राजनीतिमा ‘हेविवेट’ जिल्लाका रुपमा कैलालीलाई हेरिन्छ । प्रतिनिधी सभाका पाँचवटा निर्वाचन क्षेत्र रहेको कैलालीको यो संख्या सुदूरपश्चिमका नौवटै जिल्लाहरुमा सबैभन्दा बढी हो । त्यसैले यहाँको राजनीतिले प्रदेशका अन्य जिल्लाको राजनीतिलाई समेत प्रभावित पार्ने गर्दछ ।
आशन्न नेपाली कांग्रेसको महाधिवेशनमा पनि कैलालीलाई रोचकताका साथ हेरिएको छ । हालका सभापति नरनारायण शाह (मनु) दुई पटक सभापति भईसके । कांग्रेसको विधान अनुसार उनी फेरी उठ्न पाउदैनन् । त्यसैले अबको कैलाली कांग्रेसको सभापति को हुन्छ त ? सबैले यो विषयलाई रोचकताका साथ हेरेका छन् ।
यस्तोमा सभापतिका आकांक्षीहरुको संख्या पनि धेरै रहेको विश्लेषण हुने गरेको छ । यस्तोमा हालका उपसभापति प्रकाश बम र महासमिति सदस्य एबम् पूर्व उपसभापति नारायणदत्त भट्ट खुलेरै प्रचार–प्रसारमा जुटिसकेको चर्चा छ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता डा.रण बहादुर रावलले पनि आकांक्षा देखाईरहेको चर्चा छ । उनी १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित उम्मेदवार समेत हुन् । उनले आकांक्षालाई ‘हेविवेट’ तवरबाट हेरिएको छ ।
पार्टी सभापतिको लाईनमा धनगढी उपमहानगरपालिकाका मेयर नृपवहादुर ओड पनि रहेका छन् । हाल नेपाली काग्रेंस धनगढी नगर समितिको सभापति रहेका उनी जिल्ला सभापतिमा ईच्छुक रहेका छन् । त्यसका लागि उनले लबिंग पनि गरिरहेका छन् । त्यसैगरी कोईराला पक्षबाट अध्यक्षमा गणेश देउवाको नाम पनि चर्चामा रहेको छ ।
अघिल्लो पटक पार्टी सभापतिमा पराजित भीम बडुवाल र महासमिति सदस्य कमल शाह पनि सभापतिको प्रतिस्पर्धामा आउनसक्ने आँकलन गरिएको छ । शाह संविधान सभा सदस्य निर्वाचनका उम्मेदवार रहीसकेका व्यक्ती समेत हुन् ।
यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का सभापति खेम चौधरी र प्रतिनिधि सभा क्षेत्र नम्बर ४ का सभापति दिनेशराज जोशीले पनि आकांक्षा राखिरहेका छन् ।
बढी आकांक्षी संस्थापन (देउवा) पक्षका
सभापतिमा आंकाक्षा राख्नेमा संस्थापन पक्षका व्यक्तीहरु रहेका छन् । प्रमुख दाबेदार मानिएका धनगढी उप- महानगरपालिकाका मेयर ओड, संसदीय दलका नेता रावल, उपसभापति बम र भट्ट पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।
अर्का आकांक्षी मानिएका बडुवाल विगतमा पूर्व महाममन्त्री कृष्णप्रसाद सिटौला नजिक रहे पनि हाल आरजु देउवासंग नजिक रहेको चर्चा सुनिन्छ ।क्षेत्रीय सभापतिद्वय चौधरी र जोशी पनि संस्थापन समुह निकट नै मानिन्छन् । उनीहरुमध्ये जसले सभापति देउवाको आशिर्वाद पाउछन्, उही पार्टी सभापति हुनसक्ने बताईन्छ ।
अर्का आकांक्षी मानिएका शाह पूर्वमहामन्त्री प्रकाशमान सिँह नजिक मानिन्छन् । उनलाई संस्थापन समुहबाट उम्मेदवार हुनसक्ने बताईन्छ । तय भएको निर्वाचन तालिका अनुसार कैलालीको जिल्ला अधिवेशन साउन २६ गते हुने कार्यक्रम छ ।