कैलाली सहित सुदूरपश्चिमका विभिन्न जिल्लामा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ । कोरोना सङ्क्रमणदर केही कम भएपछि जनजीवन सहज बनाउन भन्दै निषेधाज्ञा खुकुलो बनाइएको हो । तर जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न र सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
विज्ञहरुले पनि निषेधाज्ञा खुकुलो भएको बेलामा सङ्क्रमण बढ्न सक्ने भएकाले विशेष ख्याल गर्न सुझाव दिएका छन् । कैलालीमा सार्वजनिक बस भोलीदेखि जोर बिजोर प्रणालीमा सञ्चालन गर्न पाइने भएको छ । कञ्चनपुरमा भने आजदेखि नै जोर विजोर प्रणालीमा सार्वजनिक बसहरु सञ्चालनमा आएका छन् । आज बिजोर गते भएकाले बिजोर नम्बर भएका ठूला बस चल्न थालेका छन् । बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म मात्रै सार्वजनिक गाडी चलाउन पाइनेछ ।
स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र भौतिक दूरी कायम गरी गाडी सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले आग्रह गरेका छन् । चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने तथा गाडीको ढोकामा स्यानीटाईजरको व्यवस्था हुनुपर्ने नियम छ । त्यस्तै सहचालकले पञ्जा लगाउनुपर्ने र अनिवार्य रुपमा गाडी निसङ्क्रमित गर्नु पर्नेछ । निजी गाडीमा यस अघिदेखि नै जोर बिजोर प्रणाली सुरु भइसकेको छ ।
कञ्चनपुरमा निषेधाज्ञाको समयमा सार्वजनिक यातायातका सबै सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछन ्। जिल्ला बाहिरका लागि भने अत्यावश्यक सवारी साधन बाहेक अन्यले जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्नेछ । कैलालीमा पनि यातायातका साधन जिल्ला भन्दा बाहिर जान र बाहिरबाट आउन भने रोक लगाईएको छ । सवारी साधनले क्षमता भन्दा यात्रु बोक्न पाउने छैनन । चालक, सहचालक र कन्डक्टरले मास्क र पञ्जा अनिवार्य रुपमा लगाउनु पर्नेछ । त्यसका साथै ढोकामा सेनिटाईजरको व्यबस्था पनि अनिवार्य गरेको छ ।
यसैगरी खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजा सामग्रीका पसल, खेलकुद सामग्री, स्टेशनरी÷पुस्तक पसल बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । डिपार्टमेन्टल स्टोर, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल, निर्माणजन्य सामग्री लगायतका पसल पनि बेलुका ६ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ ।
अत्यावश्यक सवारी साधन, यस्तै सरकारी, निजी तथा मालबाहक लगायतका सवारी साधन सञ्चालन गर्न पाईनेछ । अब अत्यावश्यक सामग्री प्रवाह गर्ने बाहेक सबै खाले पसलहरू प्रत्येक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाईनेछ । उद्योग, कलकारखाना लगायत, सार्वजनिक तथा निजी निर्माण कार्य पनि सञ्चालनमा आएका छन् । होटल रेष्टुरेन्ट, खाजा पसलले होम डेलिभरी तथा टेक अवे सेवा बिहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाईने छ ।
सरकारी कार्यालय, सार्वजनिक निकाय, बैंक वित्तीय संस्थाहरू, गैरसरकारी संस्था स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर तथा आलोपालो गरी सञ्चालन गर्न सकिने छ । वर्कसप कम्तीका ३ जना कर्मचारी राखेर बिहान ७ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न प्रशासनले अनुमति दिएको जिल्ला प्रशासन कार्यालयको जारी निषेधाज्ञामा उल्लेख छ ।